Tune to BFM 91.2|Biratnagar

कतार एयरवेजबाट नेपाल फर्कने प्रदेश १ का चार जनाको पहिचान

विराटनगर, ११ चैत । गत चैत ४ गतेको कतार एयरवेजबाट घर फर्किएका झापाका २ जना र उदयपुरका एक जना रहेको खुलेको छ । झापाको शिवसताक्षीका दुई जना कतार एयरवेजको फ्लाइट नम्बर ६५० बाट चैत ४ गते काठमाडौ आएको खुलेपछि उनीहरुलाई आज भद्रपुर स्थित क्वारेन्टाइनमा राखिएको छ ।

सोही विमानमा नेपाल आएकी काठमाडौंकी एक १९ वर्षीया किशोरीमा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ । उनलाई होम क्वारेन्टाइनमा रहेको बेला संक्रमण देखिएपछि अहिले आइसोलेशन वार्डमा राखेर उपचार भइरहेको सरकारले हिजो सार्वजनिक गरेको थियो ।

सो फ्लाइटमा आउने अरुलाई पनि संक्रमण भएको आशंमा सरकारले सतर्क हुन र क्वारेन्टाइनमा बस्नको लागि सम्पर्कमा आउन आह्वान गरेको छ ।

तर, विदेशबाट आएका शिवसताक्षी १० माइधारका उनीहरु क्वारेन्टाइनमा नसबेको जानकारी भएपछि आज प्रहरीले क्वारेन्टाइनमा पठाएको हो । माइधारका दुई जना र गौरादह नगरपालिका वडा नम्बर ९ स्थित वैगुनधुराका एक जनालाई संक्रमणको सावधानी स्वरुप क्वारेन्टाइनमा राखिएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक कोमल ठाकुरले वताउनुभयो ।

यसैबीच उदयपुरका एक युवा पनि सोही फ्लाइटबाट आएको र उनमा ज्वरो देखिएको भएपनि उपचार नभएको बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले बताउनुभएको छ । नगरप्रमुख थापाका अनुसार चौधरी थरका ती युवा कतार एयरवेजको फ्लाइट नम्बर ६५० बाट चैत ४ गते काठमाडौ आएका थिए ।

हाल उनलाई ज्वरो देखिएको भएपनि उपचारको लागि प्रदेश सरकार र प्रशासनमा आग्रह गर्दा पनि सुनुवाईन नभएको उहाँले बताउनुभएको छ ।

यसैगरी कतारवाट आएका सप्तरीका एक २१ वर्षिय युवकलाई ज्वरो तथा रुघाखोकी लगायतका समस्या देखिएको बताइएको छ । उनलाई आइसोलेशनमा राख्न विपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाउने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button