Tune to BFM 91.2|Biratnagar

कन्सट्रक्सनका कर्मचारी र मजदुरमाथि आक्रमण

विराटनगर, ३ माघ । ढुुंगा, बालुवा र गिट्टीसमेतका नदीजन्य पदार्थमा कमिसन माग्दै स्थानीय युवाहरुले मिक्लाजुङ गाउँपालिका–९ मधुमल्लामा रहेको बी एण्ड बी कन्सट्रक्सन प्रा.लिका कर्मचारी र मजदुरमाथि आक्रमण गरेका छन् । घटना अस्ती बिहीबाररातिको हो । प्रहरीका अनुसार राति ११ बजेतिर मदिरा सेवन गरेर युवाहरु स्थानीय टीकाराम गिरीको घरमा सञ्चालन गरिएको कन्सट्रक्सनको कार्यालयमा पुगेका थिए ।

त्यसक्रममा कन्सट्रक्सनका मजदुर र कर्मचारीसँग भनाभन हुनसाथ १०÷१२ जनाको संख्यामा रहेका उनीहरुले आक्रमण सुरु गरिहालेको प्रहरीको भनाइ छ । कन्सट्रक्सन खोलानालाको ठेक्का लिएर काम गर्दै आउनु भएका व्यवासायी भूपाल श्रेष्ठको हो । मिक्लाजुङ गाउँपालिकामा रहेका नुनसरी र बक्राहासहित छ वटा खोलानालाको चालु आर्थिक वर्षका लागि नौ करोड रुपैयाँमा ठेक्का लिएर श्रेष्ठले कन्सट्रक्सनमार्फत ढुुंगा, बालुवा र गिट्टी उत्खनन्को काम गरिरहनु भएको छ । प्रहरीकाअनुसार श्रेष्ठले ठेक्का लिएको खोला रुँघ्न र रेखदेख गर्न केही व्यक्तिहरु मिक्लाजुङमा परिचालन गर्नु भएको थियो ।

खोलाहरुको निगरानीमा खटाइएका तिनै व्यक्तिहरुको समूहलाई आक्रमण गर्न स्थानीय युवा पुगेपछि घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काकाअनुसार बाहिरबाट आएका युवाले कन्सट्रक्सनको कार्यालय रहेको गिरीको घर तोडफोड पनि गरेका छन् । तोडफोडबाट घरका ढोका, झ्याल, सिसाहरु र विभिन्न सामग्रीमा क्षति पुगेको छ ।

घटनामा कन्सट्रक्सनका कर्मचारी र मजदुरहरु राजकुमार याक्खा, जीवन गुरुङ, सन्दीप रसाइली, सुजन गुरुङलगायत सामान्य घाइते भएको जानकारी प्रहरीले दिएको छ । अर्कोतर्फका युवाहरुसमेत घटना घाइते भएको बताइए पनि उनीहरु फरार रहेको र पक्राउ नपरेका कारण वास्तविकता पत्ता नलागेको एसपी खड्काले बताउनु भयो । त्यसक्रममा तत्काल फरार बनेका युवाहरुले प्रदेश १–०२–००२ च ४१९७ नम्बरको स्कोरपिओ गाडीमा पनि तोडफोड गरेको प्रहरीले जनाएको छ । घटनापछि फरार भएका युवाहरुले कन्सट्रक्सनको कार्यालयमा जम्मा गरेर राखिएको पाँच लाख दुई हजार ३४ रुपैयाँसमेत लिएर गएको जानकारी ठेकेदार श्रेष्ठले प्रहरीलाई दिनु भएको छ ।

प्रहरीकाअनुसार राति कन्सट्रक्सनको कार्यालयमा जबरजस्ती छिरेका युवाहरुले त्यही घरमा बसिरहेकाहरुलाई हातपात, कुटपिट र आक्रमण गर्दै घाइते बनाएर नगदसमेत लिएर गएको जानकारी आएको छ । घटनामा संलग्नलाई कारबाही हुनपर्ने र घटनामा भएको क्षतिपूर्ति पाउनुपर्ने माग राख्दै ठेकेदार पक्षले हिजोसाँझ इलाका प्रहरी कार्यालय उर्लाबारीमा किटानी जाहेरी दिएको छ । जाहेरीमा मिक्लाजुङ–७ का २८ वर्षीय दिपेश मगर, सविन श्रेष्ठ, शेरबहादुर तामाङ, मिक्लाजुङ–९ का २७ वर्षीय जोसन श्रेष्ठ, २१ वर्षीय विवेक मण्डल, २८ वर्षीय हिमाल मगर, २१ वर्षीय निजन गिरी र मिक्लाजुङ–६ का २३ वर्षीय सन्देश प्रधानलगायतको घटनामा संलग्नता रहेको जनाइएको छ ।

श्रेष्ठले खोला ठेक्का लिएपछि केही स्थानीय युवाले आफूहरुले पैसा नतिरिकन नदीजन्य पदार्थ उत्खनन् गर्न र उत्खनन्बाट प्राप्त भएको आम्दानीको केही कमिसन आफूहरुले पनि पाउनुपर्ने माग राखिरहेको स्थानीय बासिन्दाको भनाइ छ । तर खोलामा आफ्नो पैसा परेकोभन्दै ठेकेदार पक्षले स्थानीय युवाहरुको माग अस्वीकार गर्यो । त्यही विषयमा दुई पक्षबीच केही समयदेखि विवाद चलिरहेको थियो । पछिल्लो समय त्यो विवाद आक्रमणको घटनामा परिणत भएको प्रहरीको भनाइ छ । घटनाका बारेमा अनुसन्धान थालिएको बताउँदै एसपी खड्काले आक्रमण गरेर फरार रहेकाहरुको खोजी तीव्र पारिएको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button