कपडा तस्करी छाडेर लागुऔषधको अवैध धन्दा

0
215

विराटनगर, २२ पुस । मोरङको धनपालथान गाउँपालिका ६ की ३५ वर्षीय मीना रामले कपडाको तस्करी छाडेर कानुनद्धारा बर्जित लागुऔषधको अवैध धन्दा सुरु गरेको खुलेको छ । प्रहरीका अुनसार उनी तीन वर्ष अघिसम्म भारतबाट नेपालतर्फ कपडाको अवैध तस्करी गर्ने धन्दामा संलग्न थिइन । पछिल्लो समय कपडा तस्करी छाडेर भारतको जोगवनीबाट लागुऔषध ल्याउँदै नेपालका विभिन्न ठाउँमा ‘सप्लाई’ गर्ने धन्दामा उनको संलग्नता रहेको प्रहरीले जनाएको छ । उनले लागुऔषधको कारोवार गर्नका लागि विराटनगर ९ मा डेरा नै लिएर बसेको खुलेको छ । प्रहरीले मीनालाई गत शुक्रबार साँझ उनकै डेराबाट पक्राउ गरेको हो । मीनाका साथबाट प्रहरीले एक सय ५० एम्पुल टिडिजेसिक र २५ बोतल डाईलेक्स डिसी बरामद गरेको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले मीना विरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्धा चलाउन आइतबार जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिएको बताउनु भयो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ग्रामीण क्षेत्रमा घर भए पनि मीनाले लागूऔषधकै कारोवार संचालन गर्न विराटनगरमा डेरा लिएर बसेको खुलेको छ । डीएसपी श्रेष्ठका अनुसार मीनाका पति राजा राम चार वर्षदेखि प्यारालाईसिसले थलिएका छन् । १५ वर्ष मुनीका दुई छोरी र दुई छोरा छन् । अपाङ्गता भएका श्रीमान र चार सन्तानलाई घरमै छाडेर मीना भने तीन वर्षदेखि डेरामा बस्दै लागुऔषधको अवैध धन्दामा सक्रिय रहेको खुलेको डीएसपी श्रेष्ठले बताउनु भयो । भारतको जोगवनीस्थित लागुऔषधको डिलर संचालन गर्नेहरुसंग मीनाको राम्रो सम्पर्क रहेको र त्यही सम्पर्कका आधारमा नेपालमा लागुऔषध भित्राएर विभिन्न ठाउँ सम्म पुर्याउने गरेको प्रहरीले जनाएको छ । मीनामाथि गरिने अनुसन्धान र प्राप्त सूचनाका आधारमा लागुऔषध कारोवारी सञ्जाल भत्काउन प्रहरी लागि परेको डीएसपी श्रेष्ठले बताउनु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here