Tune to BFM 91.2|Biratnagar

कम्युनिष्ट आन्दोलन समाप्त पार्ने खेलमा गुटवादी लागेका छन् : प्रधानमन्त्री ओली

विराटनगर, ८ फागुन । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेपालबाट कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने खेलमा गुटवादीहरू लागेको बताउनु भएको छ । विराटनगरमा आज आयोजित प्रदेश १ स्तरीय जनसभालाई सम्बोधन गर्दै ओलीले सो कुरा बताउनु भएको हो । उहाँले सामाप्त भईसकेका प्रचण्डलाई आफूले उकासेको बताउनुभयो ।

प्रचण्ड खिइने बाटोतिर लागेका उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयोे, ‘प्रचण्ड वैद्य डाक्टर हुँदै झाँक्रीसम्म आइपुगे, उनलाई अब झाँक्रीले पनि बचाउने छैनन ।’ उहाँले दाहाललाई फर्केर आए अझै नेकपामा ठाउँ रहेको पनि बताउनुभयो । प्रधानमन्त्री ओलीले संसद् पुनस्र्थापना भए देशमा अस्थिरता उत्पन्न हुने बताउनुभयो । संसद् पुनस्र्थापना भए सरकार बनाउने र ढाल्ने खेल चल्ने उहाँले बताउनुभयो । ‘कसैको पनि बहुमत नपुग्ने हुनाले सरकार बनाउने र ढाल्ने खेल चलिरहन्छ,’ उहाँले भन्नुभयोे, ‘यही अस्थिरतालाई बुझेर संसद् विघटन गरिएको हो ।’ सर्वाेच्च अदालतले जनसहभागिता र संविधानको मर्म बुझेर निर्णय गर्नेमा आफू आशावादी रहेको उहाँको भनाइ छ ।

जनसभामा नेकपा ओली समूहका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापाले देशलाई अस्थिरतातिर घकेल्ने षड्यन्त्र भएको बताउनुभयो । जनताको ताजा जनादेश लिएर अस्थिरतालाई स्थीरतामा बदल्न सकिने उहाँको विश्वास छ । बाह्यशक्तिबाट नभएर आन्तरिक रुपमा रहेका गुटवादीले असामान्य परिस्थिति सिर्जना गर्ने काम गरेको उहाँले बताउनुभयो । नेकपा ओली समूहका स्थायी कमिटी सदस्य तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा फागुन १५ भित्रै सर्वाेच्चले फैसला गर्ने बताउनुभयो । जनसभालाई सम्बोधन गर्दै नेम्वाङले बहस सकिएको भन्दै ढिलोमा १५ गतेभित्रमा फैसला आउने बताउनुभयो ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको निर्णय सदर हुने उहाँको भनाई छ । नेम्वाङले भन्नुभयो, ‘प्रधानमन्त्री ओली २ सय प्रतिशतले विश्वस्त हुनुहुन्छ, मलाई पनि उहाँको विश्वासमा भरोसा छ । विचाराधीन मुद्दामा अदालतलाई धम्क्याउने काम भएको उहाँले बताउनुभयो ।

जनसभामा प्रदेश १ का मुख्यमन्त्री तथा नेकपा केन्द्रीय सदस्य शेरधन राईले दाहाल–नेपाल र खनाल कम्पनीले विकास र समृद्धिमा भाँजो हाल्ने काम गरेको बताउनुभयो । प्रदेश १ स्तरीय जनसभालाई सम्बोधन गर्दै राईले जनताको चाहनामा भाँजो हाल्ने काम भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जाने निर्णय गरेको बताउनुभयो ।

यसैवीच प्रधानमन्त्री केपी शर्मा ओलीलाई विराटनगरमा नेकपा (दाहाल–नेपाल) समूहका विद्यार्थी तथा युवाहरूले कालो झण्डा देखाएका छन् । प्रधानमन्त्री ओलीलाई विद्यार्थी र युवाहरूले विराटनगर विमानस्थलबाट कार्यक्रमस्थल जाने क्रममा एयरपोर्टमोडमा कालो झण्डा देखाएका हुन । कालो झण्डा देखाएपछि युवा तथा विद्यार्थीलाई प्रहरीले धरपकड गरेको विद्यार्थी नेता वसिम आलमले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button