Tune to BFM 91.2|Biratnagar

करिब ४० घण्टापछि संक्रमित आए सम्पर्कमा

विराटनगर, ८ साउन । विराटनगरमा मंगलबाररातिबाट सम्पर्कबिहीन अवस्थामा रहेका कोभिड–१९ पोजेटिभ संक्रमित ६५ वर्षीय पुरुष व्यक्ति आज महानगरपालिकाको सम्पर्कमा आएका छन् ।

विराट नर्सिङ होम एवं विराटनगर अस्पताल प्रालिबाट संकलित स्वाब नमुनाको परिक्षणमा पोजेटिभ भेटिएसँगै संक्रमित सम्पर्कबाहिर रहेका थिए । संक्रमितको पहिचान करिब ३८ घण्टापछि आज बिहान महानगरले गरेको हो ।

स्वाब नमुना संकलन गरिएसँगै कोसी अस्पतालको ल्याबमा परीक्षण गराउँदा मंगलबारराति नै संक्रमितको पुष्टि भएको थियो । उनको खोजीका लागि महानगरका कर्मचारी र प्रहरी खटिएका थिए । महानगर प्रमुख भीम पराजुलीका अनुसार नमुना स्वाब संकलन गरिएको अस्पतालकै चिकित्सकमा संक्रमण देखिएको हो ।

प्रमुख पराजुलीले महानगरमा छलफल भइरहेको र आवश्यक परेको खण्डमा अस्पतालमा आवतजावतमा पूर्णरुपमा रोक लगाउन सकिने बताउनु भयो । तथापी, स्बाव नमुना संकलनका क्रममा विराटनगर अस्पतालबाट पूर्ण विवरण नलेखिदाँ ४० घण्टा पूरै तनावमा रहनु परेको महानगरपालिका जनस्वास्थ्य महाशाखाले जनाएको छ ।

महाशाखाका प्रमुख रमेश कार्कीका अनुसार कोसी अस्पतालले मंगलबाररातिको घटना औपचारिक रुपमा हिजो बिहान करिव ११ बजे जानकारी गराएको थियो । त्यसमा पनि संक्रमितको नाम र ठेगाना स्पष्ट थिएन ।

नाम र ठेगाना नभएका ती पुरुष सम्पर्कविहीन बनेका थिए । विगत दुई दिनदेखि मोबाइल नम्बर समेत गलत दिएर सम्पर्कविहीन भएका संक्रमितबारे महानगरको जनस्वास्थ्य टोलीसहित प्रहरीले अस्पतालमा सोधपुछ गरेको थियो ।

यसक्रममा अस्पतालको प्रशासनदेखि ल्याबका पदाधिकारीसहितलाई गरिएको सोधपुछपछि प्रशासनबाट आज संक्रमित व्यक्तिको नाम र ठेगाना खुलेको महाशाखा प्रमुख कार्कीले जानकारी दिनु भयो ।

संक्रमित अस्पतालकै चिकित्सक कर्मचारी रहेको महानगरपालिकाले जनाएको छ । विराटनगरस्थित प्रदेश १ जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवले नमुना संकलनका क्रममा सबै प्रक्रिया नपुर्याएका कारण अस्पताल कारबाहीको भागिदार बन्नु पर्ने बताउनु भयो ।

कोभिड–१९ उपचार केन्द्र स्थापना गर्ने क्रममा सरकारले विभिन्न ६ वटा अस्पताललाई अनुमति दिएको हुनाले यसले अस्पतालले पनि नमुना संकलन गरेको हुन सक्ने निर्देशक यादवले जानकारी दिनु भयो ।

यसक्रममा स्वाब संकलन गर्ने ल्याब, चिकित्सक र अस्पतालसमेत कारबाहीमा पर्न सक्ने उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button