Tune to BFM 91.2|Biratnagar

कसेनी घटनामा पाँच जनालाई थुनामा राख्न र दुईसँग धरौटी माग्न आदेश

विराटनगर, १० भदौ । मोरङको बेलबारी नगरपालिका–५ कसेनीस्थित लोहन्द्रा खोलामा भएको कहालीलाग्दो सामूहिक आक्रमण र हत्याको घटनामा दर्ता भएको कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला अदालत मोरङले आदेश जारी गरेको छ ।

हत्यामा संलग्नमध्ये पाँच जनालाई पूर्पक्षका लागि थुनामा राख्न र दुई जनालाई धरौटीमा छाड्न न्यायाधीश तेजबहादुर खड्काको इजलासले हिजो साँझ आदेश दिएको हो ।

पछि ठहरे बमोजिम हुने गरीभन्दै तत्काल प्राप्त प्रमाणका आधारमा इजलासले पाँच जनालाई पूर्पक्षका लागि थुनामा कारागार चलान गर्न र दुई जनालाई धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी युवराज पौडेलले बताउनुभयो ।

अदालतले घटनामा संलग्न मुख्य अभियुक्त मोरङको बेलबारी नगरपालिका–५ का ३१ वर्षीय विनयकुमार सरदारसहित पक्राउ परेका बेलबारी–५ का ३२ वर्षीय राजेन भनिने राजेन्द्र थुलुङ राई, ग्रामथान गाउँपालिका– ६ का ३३ वर्षीय वीरेन्द्रकुमार खाँ, ग्रामथान–५ का ३१ वर्षीय दीपेन भनिने दीपेन्द्रकुमार चौधरी र बेलबारी नगरपालिका–६ का ३८ वर्षीय विशालकुमार खवास (गच्छदार) थुनामा राख्न आदेश दिएको हो ।

थुनछेक बहसपछि ग्रामथान गाउँपालिका– ६ का ३४ वर्षीय जितेन्द्रकुमार चौधरीलाई चार लाख र २० वर्षीय यानव थुलुङ राईलाई दुई लाख रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । जितेन्द्र अदालतले मागेको धरौटी रकम बुझाएर छुटेका छन् ।

यानव धरौटी रकम बुझाउन नसक्दा कारागार चलान भएको जानकारी पौडेलले दिनु भयो । सरकारी वकिल कार्यालयले १९ जनाविरुद्ध अदालतमा कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको थियो ।

२८ दिनअघि भदौ १२ गते खोलामा लगाइएको बाँसको पुलका विषयलाई लिएर उत्पन्न विवाद ज्यानै लिने सामूहिक आक्रमणको घटनासम्म पुगेको थियो । आक्रमणमा उत्रिएको समूहले बन्चरो, खुकुरी लगायत घरेलु हतियारले प्रहार गर्दा ४० वर्षीय चन्द्रकुमार राईको मृत्यु भएको थियो ।

त्यही समूहले आक्रमण गर्दा चन्द्रकुमारका दाई ४२ वर्षीय सइकुमार राई, भाइ ३२ वर्षीय समुन्द्र र भतिज (सइकुमारका छोरा) १६ वर्षीय गौरव राई घाइते भए । प्रहरीका अनुसार घटनाका मुख्य योजनाकार र नाइके विनयकुुमार सरदार र हाल फरार रहेका कृष्णकुमार चौधरी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button