Tune to BFM 91.2|Biratnagar

काँकड्भिट्टा–पानीट्याङ्की नाका पूर्णरुपमा बन्द

विराटनगर, २७ चैत । लकडाउनमा अत्यावश्यक सामाग्री आयातमा खुल्ला रहेको पूर्वको काँकड्भिट्टा–पानीट्याङ्की नाका पूर्णरुपमा बन्द भएको छ ।

भारतको पश्चिम बंगाल सरकारले बुधबारबाट सडक र सवारीलाई पूर्णरुपमा लकडाउन गर्ने निर्णय गरेसँगै काँकड्भिट्टा–पानीट्याङ्की नाका पूर्णरुपमा ठप्प भएको हो । भारतमा नोवल कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै गएको र मानिसको मृत्यु समेत हुन थालेपछि पश्चिम बंगाल सरकारले भारतीय नाका रानीगञ्ज (काँकरभिट्टा–पानीट्याङ्की) भएर कुनैपनि मालवहाक सवारी साधन पठाएको छैन ।

जसका कारण यो नाका हुँदै बुधबारबाट एउटा पनि अत्यावश्यक सामाग्री बोकेका सवारी नेपाल प्रवेश गरेका छैनन् । केहि दिनअघिदेखि भारतको पानीट्याङ्की नाकामा थन्किएका १ सय १४ वटा सवारी साधन भारतीय भन्सार कार्यालयले मंगलबार साँझसम्म नेपाल प्रवेश गराइसकेको थियो । मेची भन्सार कार्यालय काँकरभिट्टाका अनुसार ग्याँस, कोइला, क्लीनर, बुलेट, तरकारी बोकेका ती मालवहाक सवारी साधन नेपाल प्रवेश गरेका थिए ।

तर बुधबारदेखि पूर्ण लकडाउनको कारण देखाउदैं पश्चिम बंगाल सरकारले कुनैपनि मालवहाक सवारी साधन नपठाउने जानकारी मौखिकरुपमा आफुलाई प्राप्त भएको मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले बताउनुभयो ।

पश्चिम बंगाल सरकारले नेपालसँगै भुटान, बंगलादेशसँग सीमा जोडिएका नाका समेत लक गरेको बताइएको छ । भारत सरकारले भने लकडाउनमा यो नाकासहित नेपालसँग सीमा जोडिएका चारवटा नाका मात्र खुला गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button