Tune to BFM 91.2|Biratnagar

कांग्रेसको पालिका अधिवेशन रोकियो

विराटनगर, ९ असोज । मोरङमा नेपाली कांग्रेसको पालिका (गाउँ÷नगर) अधिवेशन रोकिएको छ । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत आज पालिका स्तरीय अधिवेशनको मिति तय भएको थियो । वडा अधिवेशन सम्पन्न भएका विभिन्न जिल्लामा पालिका अधिवेशन भइरहे पनि मोरङमा भने रोकिएको छ । मोरङ जिल्लाका निर्वाचन अधिकृत केदार कार्कीका अनुसार वडा अधिवेशनको नतिजा समयमै सार्वजनिक गर्न नसकिएकाले र पार्टीले गरेका केही महत्वपूर्ण निर्णयसँगै आज जिल्लाभित्रका गाउँपालिका, नगरपालिका र महानगरपालिकाको अधिवेशन गर्न नसकिएको हो ।

मोरङमा १ सय ५९ वटा वडा छन् । यो समाचार तयार पर्दासम्म अधिवेशन भएकामध्ये १ सय ७ वटाको मात्रै मतगणनाको अन्तिम परिणाम सार्वजनिक भएको जानकारी कार्कीले दिनु भयो । वडा अधिवेशनको मतपरिणाम सार्वजनिक गर्न ढिला भएकाले समय अभाव हुँदा पालिका स्तरीय अधिवेशन पछि सार्नुपर्ने अवस्था आएको उहाँले बताउनु भयो । केन्द्रबाट आएका केही नयाँ निर्देशनसहितको सूचना टाँस गरेरै अधिवेशन गर्न नसकिएको जानकारी दिइएको उहाँको भनाइ छ । उहाँका अनुसार तयारी राम्ररी नपुगेकाले र धेरैजसोले मतदान प्रक्रियाका बारेमा राम्ररी कुरा नबुझेकाले पनि पालिका अधिवेशन पछि सारिएको हो । मतदात प्रक्रियामा देखिएका कमिकमजोरीलाई हटाएर पालिका स्तरीय अधिवेशन गरिने कार्कीले बताउनु भयो ।

कार्कीले महानगरपालिका, नगरपालिका र गाउँपालिकाको अध्यक्षको उम्मेदवार बन्नका लागि क्षेत्रीय प्रतिनिधिमा निर्वाचित हुर्नैपर्ने र क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएकाले मात्रै अध्यक्षको प्रस्तावक एवं समर्थक बस्न पाउने प्रावधान राखिएको बताउनु भयो । उपाध्यक्ष, सचिव र सहसचिव लगायतका पदमा क्रियाशिल सदस्यता भएकाले पनि उम्मेदवारी दिन पाउने उहाँको भनाइ छ । कार्कीले पालिका तहको अधिवेशनका लागि आगामी असोज १५ गते उम्मेदवारी मनोनयन र १६ गते निर्वाचनको मिति तय गर्न आग्रह गरेर केन्द्रमा प्रस्ताव पठाइएको बताउनु भयो । ‘नयाँ मितिको प्रस्ताव गरेर पठाइए पनि केन्द्रबाट निर्णय भएर आउन बाँकी छ,’ उहाँले भन्नु भयो, ‘तर अधिवेशन असोज १५ र १६ भित्रमा सक्ने तयारी छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button