कांग्रेसले राजनीतिक उपलब्धिको स्वामित्व लिने

0
28

मंसिर २१, २०७५ – नेपाली कांग्रेसले प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्ने मुल लक्ष्यसहित पार्टीको राजनीतिक धारणा तयार गरेको छ । मुलुकमा भएका हरेक राजनीतिक परिवर्तनको नेतृत्व गरेको दावी सहित कांग्रेसले तीनै परिवर्तन संस्थापन गर्न आगामी दिनमा पुनः नेतृत्व लिने लक्ष्य लिएको हो । राजनीतिक मस्यौदा समितिका संयोजक समेत रहेका उपसभापति विमलेन्द्र निधिले संविधान, राज्यपुनसंरचना, गणतन्त्रलगायत महत्वपूर्ण परिवर्तनको स्वामित्व कांग्रेसले पुनः लिने गरी प्रस्ताव तयार भएको बताउनुभयो । सातै प्रदेश, पार्टी निकट बुद्धिजीवी, सरोकार व्यक्ति लगायतसँगको परामर्शपछि कांग्रेसले आज राजनीतिक प्रस्तावलाई अन्तिम रुप दिदैछ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजेपछि बस्ने राजनीतिक समितिको बैठकले मस्यौदालाई अन्तिम रुप दिने उपसभापति निधिले जानकारी दिनुभयो । नेता नरहरी आचार्यको नेतृत्वमा रहेको उपसमितिले लेखनको काम सकेको सो मस्यौदा १७ सदस्यीय राजनीतिक समितिको आजको बैठकमा पेस हुन लागेको हो । समितिले आवश्यक छलफल पछि अनुमोदन गर्ने सो प्रस्ताव जारी केन्द्रीय समिति बैठकमा पेस हुनेछ । यसैबीच, विधान मस्यौदामाथिको छलफल आज सक्ने तयारी कांग्रेसले गरेको छ । अघिल्लो बिहीवार सुरु छलफलमा ५९ जना सदस्यले धारणा राखेका छन् । प्रवक्ता विश्वप्रकाश शर्माकाअनुसार, छलफलका क्रममा प्राप्त सुझावलाई एकीकृत गरी आवश्यक संशोधनसहितको मस्यौदा अर्काे बैठकले अनुमोदन गर्नेछ । बिहान ११ बजेपछि पार्टी मूख्यालयमा बस्ने बैठकमा सदस्यले विधानमाथि बोल्ने क्रम जारी रहनेछ । सहमहामन्त्री प्रकाशशरण महत नेतृत्वको आर्थिक समितिले भने ५ खम्बे आर्थिक नीति सहितको आर्थिक प्रतिवेदन गत बुधवारको बैठकमा प्रस्तुत गरेको थियो । आगामी मंसिर २८ गतेबाट महासमिति बैठक बस्ने भएकाले समय अभावमा राजनीतिक र आर्थिक प्रतिवेदनमाथि एकसाथ छलफल चलाउने तयारी भएको उपसभापति निधिले जानकारी दिनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here