Tune to BFM 91.2|Biratnagar

कांग्रेस नेता अशोक कोइरालाको निधन

विराटनगर, ५ चैत । विराटनगर उपमहानगरपालिकाका संस्थापक मेयर एवं कांग्रेस नेता अशोक कोइरालाले आज बिहान निधन भएको छ । नेपाली कांग्रेस मोरङका पूर्वसभापतिसमेत रहनु भएका ७७ वर्षीय कोइरालाको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा निधन भएको हो । उहाँ संविधानसभा सदस्य एवं राष्ट्रिसभाका पूर्वउपाध्यक्ष पनि हुनुहुन्छ ।

नेपाली कांग्रेस महासमिति सदस्य रहनु भएका कोइराला २०४८ सालको स्थानीय निर्वाचनबाट विराटनगर उपमहानगरको पहिलो मेयरमा विजयी बन्नु भएको थियो । विराटनगर अहिले महानगरपालिका घोषित भइसकेको छ । कांग्रेस मोरङ क्षेत्र नम्बर ४ का सचिव सन्तनु रेग्मीका अनुसार चिकित्सकले बिहान १ बजेतिर कोइरालालाई मृत घोषित गरेका हुन् । श्वासप्रश्वासमा समस्या देखिएर असहज महसुस गरेपछि उहाँलाई उपचारका लागि हिजो बिहान २ बजेतिर अस्पताल लगिएको जानकारी रेग्मीले दिनु भयो । उपचारका लागि भर्ना गरेको २४ घण्टा पुग्न नपाउँदै कोइरालाले यस संसारबाट सधैँका लागि विदा लिनु भएको छ ।

‘स्वास्थ्यमा समस्या देखिनसाथ उपचारका लागि अस्पताल पुर्याइएको थियो,’ उहाँले भन्नु भयो, ‘चिकित्सकले धेरै प्रयास गर्दा पनि बचाउन सम्भव भएन ।’ सचिव रेग्मीलाई उद्रित गर्दै हाम्रा सहकर्मी किशोर बुढाथोकीले दिएको जानकारी अनुसार पछिल्लो समय कोइरालामा निमोनियाको समस्या देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । अशोक नेपाली राजनीतिमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको कोइराला परिवारका सन्तान एवं नेपालका पूर्वप्रधानमन्त्री स्वः सुशील कोइरालाका सहोदर भाइ हुनुहुन्छ । सचिव रेग्मीका अनुसार बुवा बोधप्रसाद कोइराला र आमा कुमोदिनी कोइरालाको पाँचौ सन्तानका रुपमा विराटनगरकै कोइराला निवासमा उहाँको जन्म भएको थियो ।

२०४४ सालमा उहाँ नेपाली कांग्रेसको जिल्ला सभापति बनेको जानकारी रेग्मीले दिनु भयो । एकसमय राजनीतिमा निक्कै सक्रिय रहनु भएका कोइराला पछिल्लो समय निस्कृयजस्तै हुनुहुन्थ्यो । तर पनि नेतृत्वदायी र अभिभावकीय भूमिकामा रहेर पार्टीका सभा, सम्मेलन तथा विभिन्न कार्यक्रमहरुमा उहाँको सभागिता रहने गरेको रेग्मीले बताउनु भयो । राजनीतिक पृष्ठभूमि र वातावरण एवं कोइराला निवासमै जन्मिएर हुर्किएका कारण अशोक कोइराला पनि राजनीतिबाट अलग हुन नसकेको जानकारहरु बताउँछन् । अस्पतालबाट ल्याएर उहाँको शव विराटनगर महानगरपालिका–८ स्थित निजी निवासमा श्रद्धाञ्जलीका लागि राखिएको छ ।

कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्न कांग्रेसका नेता कार्यकर्ता, शुभेच्छुक तथा शुभचिन्तक एवं अन्य दलका नेता कार्यकर्ताको भीड लागिरहेको जानकारी सचिव रेग्मीले दिनु भयो । उहाँका अनुसार श्रद्धाञ्जलीपछि विराटनगरमा शव यात्रा पनि गरिने छ । त्यसपछि आज बिहान ११ देखि १२ बजेबीचमा विराटनगरकै सिंघीया घाटमा कोइरालाको अन्त्येष्टि हुने रेग्मीले बताउनु भयो । कोइरालाका श्रीमती, एक छोरा र एक छोरी छन् । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले सामाजिक सञ्जाल फेसबुकमा कोइरालाप्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ ।

उहाँले कोइरालाको दुःखद् निधनले सिंगो कांग्रेस पार्टी र विराटनगर महानगरपालिका स्तब्ध एवं मर्माहत बनेको उल्लेख गर्नु भयो । साथै महानगर प्रमुख पराजुलीले भगवानले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भन्दै शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गर्नु भएको छ । ‘कोइरालाको निधनसँगै कांग्रेसले नेपाली राजनीतिका अभिभावक गुमाएको छ । नेपाली राजनीतिको एउटा इतिहास ढल्न पुग्यो,’ उहाँले भन्नु भयो , ‘निधनले विराटनगरसहित सिंगो मुलुकलाई अपुरणीय क्षति पुगेको छ । राजनीतिकका मार्गदर्शक गुमाउनु पर्दा सबै क्षेत्र स्तब्ध छ ।’ विगतमा कोइरालाले देखाएको बाटो र निर्वाह गरेको भूमिका सबैका लागि प्रेरणाको स्रोत र राजनीतिक यात्राको एउटा आधार भएको पराजुलीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button