कास्मिर लगिँदै गरेका १० जनाको उद्धार, तीन पक्राउ

0
194

विराटनगर, ३ साउन । आकर्षक रोजगारीको प्रलोभनमा पारेर भारतको जम्मु–कास्मिरमा लगिँदै गरेका १० जनाको नेपाल–भारत सीमा क्षेत्रबाट उद्धार गरिएको छ । सुनसरीको घुस्की नाकाबाट उद्धार गरिएकाहरुमा दुई युवती र आठ युवक छन् । मोरङको इलाका प्रहरी कार्यालय उर्लाबारीले सुनसरी प्रहरीसँग समन्वय गरेर भारत कटाउनै लाग्दा उनीहरुको हिजो साँझ उद्धार गरेको हो । उर्लाबारी नगरपालिका–४ घर भएका सबै जनालाई आज अभिभावकको जिम्मा लगाएर पठाइएको छ । मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीका अनुसार मासिक भारतीय १७ हजार रुपैयाँ र ओभर टाइम गर्दा राम्रो कमाई गर्न सकिने भन्दै प्रलोभनमा पारेर सबै जनालाई सामूहिक रुपमा जम्मु–कास्मिर लैजान लागिएको पुष्टि भएको बताउनुभयो । उनीहरुलाई नेपालबाट कास्मिर लैजान खोज्ने तीन जनालाई पनि पक्राउ गरिएको उनको भनाइ छ । पक्राउ पर्नेमा मोरङको उर्लाबारी–४ का ४८ वर्षीय पुड्का उराव, उनकी श्रीमती ४५ वर्षीय फूलकुमारी उराव र सुनसरीको हरिनगरा–७ का ४० वर्षीय अफिज अन्सारी रहेका छन् । जम्मु–कास्मिरमा लगिँदै गरेका १० लाई उद्धार गर्नका लागि खटिएको प्रहरी टोलीमाथि समेत आक्रमणको प्रयास भएको उर्लाबारी प्रहरीले जनाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here