Tune to BFM 91.2|Biratnagar

कृषि कर्म गर्न चाहने युवाहरूलाई प्रोत्साहन गर्ने प्रदेश १ सरकारको योजना

विराटनगर, २७ जेठ । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष कृषि कर्म गर्न चाहने युवाहरूलाई प्रोत्साहन गर्ने योजना तयार गरेको छ । बजेट बनाउन जुटेको प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ मा व्यक्तिगत रुपमा कृषि कर्म गर्न चाहनेलाई पाँच लाख रुपैयाँसम्म ऋण दिने र तीन वर्षको ब्याज तिरिदिने योजना बनाएको हो । ‘

हाम्रो प्राथमिकता कृषि र स्वास्थ्य हो,’ प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले भन्नुभयोे, ‘व्यक्तिगत रुपमा कृषि गर्न चाहनेलाई पाँचलाख रुपैयाँसम्म ऋण दिएर तीन वर्षसम्मको ब्याज सरकारले नै तिरिदिन्छ ।

’ आगामी आर्थिक वर्ष कुल बजेटको करिब २० प्रतिशत बजेट कृषि क्षेत्रमा विनियोजन गर्ने सरकारको तयारी छ । प्रदेश सरकारको चालु आर्थिक वर्षमा पुँजीगत खर्च ४३ प्रतिशत भइसकेको आङ्बोले बताउनुभयो ।

लकडाउनमा पनि विकास निर्माणको काम जारी रहेका कारण खर्च बढ्ने उहाँले बताउनुभयो । लकडाउनको पहिलो महिना योजनाहरू स्थगित भए पनि दोस्रो महिनादेखि श्रमलाई राहतसँग जोडेर सुरु गरिएको उहाँले बताउनुभयो । सरकारले चालु आर्थिक वर्षका लागि ४२ अर्बको बजेट ल्याएको थियो । तर कोरोना महामारीका कारण सरकारको बजेट घटेको छ ।

आयश्रोतको हिसाबले संशोधित अनुमानमा ३३ अर्ब मात्रै रहेको आङ्बोले बताउनुभयो । राजस्व पनि नउठ्ने र खर्च बढिरहने अवस्था आएकाले आगामी वर्षको बजेट तुलनात्मक रुपमा कम हुने उनले बताए । चालु आर्थिक वर्षको संसोधित अनुमान ३३ अर्ब भएका कारण आमागी वर्ष सरकारको बजेट ३० देखि ३५ अर्बको बीचमा आउने सम्भावना छ ।

कृषि क्षेत्रको विकासका सहुलियत ऋण र अनुदानको व्यवस्था गरेको प्रदेश सरकारले कृषि उत्पादनको बजारीकरणका लागि पनि सहयोग गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button