Tune to BFM 91.2|Biratnagar

केशलीया मार्ग निर्माणको माग गर्दै सडकमै धर्ना

विराटनगर, २४ मंसिर । विराटनगर महानगरपालिका–६ र ११ जोड्ने केशलीया मार्ग निर्माणको माग गर्दै स्थानीय बासिन्दा बुधबार सडकमै धर्नामा बसेका छन् । लामो समयदेखि सडक बनाउने काम अवरुद्ध भएको र सडकको दुवैतर्फ विराटनगर महानगरपालिकाले सडक पेटी खाली गराएर अलपत्र छाड्दा दिनानुदिन जोखिम बढ्दै गएको भन्दै स्थानीय अगुवाहरु विराटनगरको भट्टी मोड नजिक धर्नामा बसेका हुन् ।

सुनसरीको दक्षिण सीमावर्ती ग्रामीण बस्तीको विराटनगर जोड्ने प्रमुख खण्डको रुपमा रहेको उक्त सडक निर्माणमा राज्यले चासो नदिएको गुनासो स्थानीयको छ । स्थानीयहरुले आज , भोलि र पर्सि भन्दाभन्दै आखिर मा कहिले केशलीया रोड बनाउने भन्दै सडकमै धर्ना दिएका हुन् । यत्रतत्र, केशलीया मार्ग अलपत्र भन्दै स्थानीयहरुले प्रदर्शन पनि गरेका छन् । नगरपालिकाको पहलमा केही मर्मत भए पनि त्यसपछि सडक निर्माणको लागि विगत ५ वर्षदेखि कुनै पहल नभएको विराटनगर–६ का स्थानीय सन्तोष साहले बताउनुभयो । निर्माण नहुँदा सडकमा दुर्घटनाको जोखिम बढेपछि निर्माणका लागि दबाब दिन आन्दोलन थालिएको उहाँको भनाइ छ ।

सडक निर्माण नहुँदा धेरै समस्या भोग्नु परेको स्थानीय व्यापारी प्रदीप कर्णले बताए । गाउँगाउँसम्मै सरकार पुगे पनि निर्माण नहुँदा सडकको हालत भने झन् खराब बनेर गएको उहाँको भनाइ छ । स्थानीय गणेश साहले सडकका कारण सर्वसाधारणले धेरै सास्ती बेहोर्नु परेको र जनता जोखिममा परेको गुनासो गर्नुभयोे ।

हुलाकी राजमार्ग अन्तर्गतको सप्तरी–झापा खण्ड हेर्ने आयोजना प्रमुख दीपेन्द्र पाण्डेले विराटनगरको भट्टी मार्गदेखि तीन किलोमिटर पश्चिमबाट मात्र आयोजनाको काम अघि बढ्ने जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button