कोभिड–१९ महामारीको बेला सक्रिय युवालाई सम्मान
विराटनगर ११ माघ । कोभिड–१९ महामारीको बेला मृतकको शव व्यवस्थापन र संक्रमितका घर निर्मलीकरण गर्न सक्रिय युवालाई विराटनगरमा सम्मान गरिएको छ ।
आज गुराँस पुस्तकालय विराटनगरले आयोजना गरेको कार्यक्रममा महामारीको बेला जनसेवामा खटिएको कार्यको कदर गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले युवालाई सम्मानित गर्नुभएको हो ।
सम्मानित हुनेहरुमा राम नेपाल, रविन कार्की, सुयोग चापागाईं, सन्जोग गौतम, दृश्यमान शाक्य र अनुराग भण्डारी छन् । उनीहरू विराटनगरमा कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव परिवारको उपस्थितिमा सदगत गर्न सक्रिय थिए ।
यसैगरी, उनीहरुले संक्रमितका घर निर्मलीकरण पनि गर्ने गरेका थिए । आजनै मुक्तिप्रसाद–यदुनाथ चापागाईं विशेषांक लोकार्पण तथा सम्मान कार्यक्रममा कांग्रेस नेता पौडेलले प्रजातान्त्रिक आन्दोलनका अगुवा देवी डाँगीलाई पनि सम्मान गर्नुभएको छ ।