Tune to BFM 91.2|Biratnagar

कोरोनाका कारण विराटनगर १५ का एक पुरुषको मृत्यु

विराटनगर, ३० साउन । विराटनगर महानगरपालिका –१५ का ३० वर्षीय पुरुषको मृत्यु कोरोनाकै कारण भएको खुलेको छ । विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा हिजो दिउँसो ४ बजे मृत्यु भएका पुरुषको रिपोर्ट दोस्रो पटक परीक्षण गर्दा भने पोजेटिभ आएको छ ।

मृत्यु भइसकेपछि हिजो साँझ ७ः१५ बजेतिर उनको पहिलो रिपोर्ट नेगेटिभ आएको थियो । ज्वरो आउने, रिँगाटा चल्ने लगायत कोरोनासँग मिल्ने लक्षण देखिएका उनलाई श्वासप्रश्वासमा समस्या भएपछि हिजो बिहान १०ः३० बजेतिर अस्पताल भर्ना गरेर ११ बजेतिर स्वाब संकलन गरिएको थियो ।

तर मृत्यु भइसकेपछि रिपोर्ट नेगेटिभ आए पनि त्यसलाई चिकित्सकले विश्वास गरेन् । शंकास्पद बिरामीको रिपोर्ट नेगेटिभ आएपछि चिकित्सकले शंका लागेर पुनः दोस्रो पटक राति ११ बजे परीक्षणका लागि स्वाब संकलन गर्दै प्रयोगशालामा पठाएका थिए ।

मृत्यु भइसकेपछि दोस्रो पटक संकलन गरिएको स्वाबको रिपोर्ट भने आज बिहान ५ बजे पोजेटिभ आएको कोशी अस्पताल कोरोना आइसोलेसनका संयोजक एवं बरिष्ठ फिजिसियिन डा. लक्ष्मीनारायण यादवले बताउनु भयो । ‘जीवितै हुँदा गरिएको स्वाब संकलनको रिपोर्ट नेगेटिभ आयो,’ उहाँले भन्नु भयो , ‘तर मृत्यु भइसकेपछि पुनः शवबाट गरिएको स्वाब संकलनको रिपोर्ट भने पोजेटिभ आएकाले पुरुषको मृत्यु कोरोनाकै कारण भएको पुष्टि हुन गयो ।

’ डा. यादवकाअनुसार पोजेटिभ बिरामीको रिपोर्ट नेगेटिभ आएपछि परिवारका सदस्यलाई शव जिम्मा नदिइकन दोस्रो पटक परीक्षणका लागि स्वाब नमुना लिइएको थियो । स्वाब संकलन र परीक्षणमा बढी परिश्रम गर्नु परे पनि रिपोर्ट पोजेटिभ आएकाले कोरोना अन्यत्र फैलने ठूलो जोखिम टरेको उहाँको भनाइ छ ।

पहिलो चोटी संकलन गरिएको स्वाबलाई प्रयोगशालामा पटक–पटक परीक्षण गर्दा पनि रिपोर्ट नेगेटिभ आएपछि दोस्रो पटक स्वाब संकलन गरिएको अस्पतालले जनाएको छ । कोरोनाका कारण मृत्यु भएका पुरुषको शव परिवारलाई नदिइकन व्यवस्थापनका लागि नेपाली सेनाको विशेष टोलीलाई बुझाउने तयारी अस्पतालले गरेको छ ।

प्रयोगशालाका एक प्राविधिकले ल्याबाको सबै रिपोर्ट सतप्रतिशत नहुने बताए । स्वाब संकलनमा प्राविधिक त्रुटि भएमा र परीक्षण गर्ने मेसिनमा बढी लोड हुँदा सबै रिपोर्ट सही नआउने उनको भनाइ छ ।

उनले एक सयमा लगभग ७० प्रतिशत मात्रै रिपोर्ट सही हुने जानकारी दिए । ‘प्रयोगशालामा ७० प्रतिशत मात्रै रिपोर्ट सत्य आउँछ भन्ने विश्वकै मान्यता छ,’ ती प्राविधिकले भने , ‘३० प्रतिशत रिपोर्टलाई विश्वास नै गर्न सक्ने अवस्था हुँदैन ।’

त्यही भएर प्रयोगशालाबाट प्राप्त रिपोर्टमा शंका लागेमा पुनः दोहोर्याई तेहेर्याई परीक्षण गरेर सही रिपोर्ट निकाल्ने प्रयास गरिनु पर्ने उनको भनाइ छ ।

३० वर्षीय पुरुषको मृत्यु भएसँगै विराटनगरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या छ पुगेको छ । यसअघि मृत्यु हुनेमा विराटनगर–९ का दुई, ३, ५ र १० नम्बर वडाका एक/एक जना पुरुष छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button