Tune to BFM 91.2|Biratnagar

कोरोनाका कारण १ लाख ४७ हजार को मृत्यु

विराटनगर, ५ वैशाख । भारतमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या १३ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म भारतमा संक्रमित हुनेको संख्या १३ हजार ४ सय ९५ पुगेको हो ।

अहिलेसम्म भारतमा चार सय ४८ जना मानिसको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा २३ जनाको मृत्यु भएको हो । भारतको उत्तरी राज्य बिहारमा अहिलेसम्म ८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने एक जनाको भाइरसको कारण मृत्यु भएको छ ।

अहिलेसम्म भारतमा एक हजार सात सयभन्दा धेरै संक्रमित निको भइसकेका छन् । यसैविच कोरोना भाइरसबाट विश्वभरका झण्डै २२ लाख मानिस संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म विश्वका २१ लाख ९३ हजार ५ सयभन्दा बढिमा कोरोनाको संक्रमण देखिएको छ । त्यस्तै विश्वका १ लाख ४७ हजार ७ सय भन्दा बढि मानिसको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

५ लाख ५५ हजार ५ सयभन्दा बढि मानिस उपचारपछि घर फर्किएका छन् । कोरोनाको संक्रमण अमेरिकामा उच्च छ । पछिल्लो तथ्यांकअनुसार अमेरिकामा ६ लाख ७८ हजार बढिमा भाइरसको संक्रमण देखिएको छ भने झण्डै ३५ हजारको मृत्यु भएको छ । अमेरिकापछि सबैभन्दा धेरै इटालीमा २२ हजार बढिको मृत्यु भएको छ ।

त्यहाँ १ लाख ६९ हजारलाई संक्रमण देखिएको छ । त्यस्तै अर्को युरोपेली देश स्पेनमा १९ हजार बढी मानिसले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यहाँ १ लाख ८५ हजार जनाको मृत्यु भएको छ । यसैविच कोरोना भाइरसको उत्पत्ति स्थल मानिएको चीनको वुहानमा यो महामारीबाट मृत्यु हुनेको संख्या एक हजार २९० जना थपिएको छ ।

यसअघि फेला नपरेका र गणनामा छुटेका भन्दै १२ सय ९० जना मृतकको संख्यामा थपिएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । महामारीको समयमा अस्पतालमा पर्याप्त भर्ना गर्न नसक्दा उनीहरुको गणना छुटेको बताइएको छ । योसँगै चीनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ६३२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button