Tune to BFM 91.2|Biratnagar

कोरोनाले मृत्यु भएका पुरुषकी श्रीमतीको रिपोर्ट पनि पोजेटिभ

विराटनगर, १५ साउन । कोरोना भाइरसको संक्रमणको कारण मृत्यु भएका सीमावर्ती मोरङको सुनवर्षी नगरपालिका–८ का ४५ वर्षीय पुरुषकी पत्नीको पनि रिपोर्ट पोजेटिभ आएको छ ।

स्वाब संकलन गरेर कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणपछि आज पत्नीमा पनि कोरोना संक्रमण पुष्टि भएको हो । अस्पतालका सुपरिटेन्डेन डा. चुमनलाल दासले कोरोना संक्रमणबाट मृत्यु भएका पुरुषकी ३२ वर्षीया श्रीमतीको पनि रिपोर्ट पोजेटिभ आएको जानकारी दिनु भयो ।

संक्रमित महिलालाई कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा भर्ना गर्ने तयारी भइरहेको उहाँले बताउनु भयो । डा. दासकाअनुसार बिरामी श्रीमानलाई लिएर गत सोमबार ती महिला उपचारका लागि विराटनगर आएकी थिइन् ।

कोरोनासँग मिल्ने लक्षण देखिएपछि पुरुषको तत्कालै स्वाब संकलन गरेर परीक्षण गर्दा मंगलबार रिपोर्ट पोजेटिभ आएको थियो । ‘पोजेटिभ रिपोर्ट आउनसाथ श्रीमानलाई कोभिड अस्पताल भर्ना गरेर तत्काल श्रीमतीको पनि परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिएको थियो,’ दासले भन्नु भयो, ‘कोरोनाकै कारण हिजो श्रीमानको मृत्यु भयो भने श्रीमतीको पनि आज नतिजा पोजेटिभ आयो ।’

सैबिच कोरोना संक्रमितको मृत्यु भएपछि मोरङको सीमावर्ती सुनवर्षी नगरपालिकाको वडा नम्बर ८ आज बिहानदेखि सिल गरिएको छ । उक्त वडाका ४५ वर्षीय पुरुषको हिजो बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएपछि नगरपालिकाले सो वडा सिल गरेको छ ।

नगरका जनस्वास्थ्य प्रमुख किशोर कुमार मण्डलका अनुसार मृतकका आफन्तसहित उनलाई अस्पतालसम्म र्पुयाउन खटिएका १० जनालाई अलग्गै क्वारेन्टाइनमा राखेर कन्ट्याक ट्रेसिङ गर्ने तयारी भइरहेको छ ।

ती पुरुषमा कोरोना पोजिटिभ देखापरेपछि उनको बस्ती वरपरका ४८ जनाको पीसीआर परीक्षण गरिएको र उनीहरुको रिपोर्ट आइनपुगेको जनस्वास्थ्य प्रमुख मण्डलले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button