Tune to BFM 91.2|Biratnagar

कोरोनाले मोरङमा एक सुत्केरी सहित दुईको मृत्यु

विराटनगर, १२ मंसिर । मोरङको रतुवामाई नगरपालिकाकी १७ दिने सुत्केरी एक महिला सहित २ जना संक्रमितको आज मृत्यु भएको छ । गय राति ११ बजेतिर रतुवामाई–१० की २५ वर्षीया सुत्केरी महिलाको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

उपचारका क्रममा मृगौला र निमोनियाको पुरानै समस्या देखिएकी मृतक १७ दिनकी सुत्केरी रहेको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिनु भयो । श्वास फेर्न गाह्रो भएपछि र बोली बन्द भएपछि मंसिर १० गते बुधबार उनलाई उपचारका लागि परिवारका सदस्यले नोबेलमा भर्ना गरेका थिए । दाहालका अनुसार गम्भीर अवस्थामा भर्ना गरिएकी महिलालाई तत्काल आइसोलेसनमा भर्ना गरेर भेन्टिलेटरमा राख्दै उपचार थालिए पनि भोलिपल्टै ज्यान गएको हो ।

प्रसूति व्यथाले च्यापेपछि झापाको दमकस्थित आम्दा अस्पताल भर्ना गरिएकी महिलाको कात्तिक २५ गते शल्यक्रिया गरिएको थियो । शल्यक्रियामार्फत छोरी जन्माएपछि स्वास्थ्य अवस्था राम्रो रहेकोभन्दै उनलाई अस्पतालले डिस्चार्ज दिएर घर पठायो । त्यसको चार दिनपछि श्वासप्रश्वासमा समस्या देखिएका कारण उपचारका लागि मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा भर्ना गरिएको मृतककी दिदीको भनाइ छ । विराटको आईसीयूमा भर्ना गरेर कात्तिक ३० गते पीसीआर परीक्षण गराउँदा पहिलो रिपोर्ट नेगेटिभ आएको थियो । सबै लक्षण कोरोनासँग मिल्दोजुल्दो रहे पनि रिपोर्ट नेगेटिभ आएको भनेर शंका व्यक्त गर्दै चिकित्सकले पहिलो रिपोर्ट प्राप्त भएको १२ घण्टाभित्रै दोस्रो पटक पीसीआर परीक्षण गर्न लगाएका थिए । दोस्रो रिपोर्ट भने पोजिटिभ आएको मृतककी दिदीले बताइन् ।

त्यहाँबाट पाँच दिनसम्म आईसीयूमा भर्ना गरेर उपचार गराएपछि स्वास्थ्य अवस्थामा केही सुधार भएपछि होम आइसोलेसनमा राख्ने गरी घर लगेको जानकारी उनले दिइन् । स्वास्थ्यमा सुधार हुँदै गएर अवस्था सामान्य बनेका कारण चिकित्सकसँग सल्लाह गर्दै घरमा होम आइसोलेसनमा राख्ने गरी लगिएको उनको भनाइ छ । तर त्यसको केही दिनपछि क्रमस स्वास्थ्य अवस्था बिग्रदै गयो ।

सुरुमा श्वासप्रश्वासको समस्या देखिएकी बहिनीको बोली नै बन्द भएपछि उपचारका लागि नोबेलमा बुधबार भर्ना गरिएको दिदीको भनाइ छ । उपचारमा लापरबाही गरेर सुत्केरीको मृत्यु भएपछि अस्पतालले विभिन्न बहाना बनाएर मृत्युको कारण कोरोना देखाउने प्रयास गरेको आरोप परिवारको छ ।

यसैबिच बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना भाइरस संक्रमित मोरङका एक वृद्ध पुरुषको मृत्यु भएको छ । मोरङको बेलबारीका ७६ वर्षीय वृद्धको गय राति ९ः३० बजेतिर मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

मृतकमा मधुमेह र उच्च रक्तचापको पुरानै समस्या रहेको जनाइएको छ । वृद्धको पीसीआर परीक्षण गराउँदा मंसिर ३ गते रिपोर्ट पोजिटिभ आएको प्रतिष्ठानले जनाएको छ । उपचारका लागि अघिल्लै दिन भर्ना गरिएकोमा पीसीआर परीक्षण गराउँदा उनलाई भोलिपल्ट कोरोना पुष्टि भएको हो । मृतकको शव व्यवस्थापन नियम अनुसार हुने प्रतिष्ठानले जनाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button