कोरोना आशंका गरिएका दुई बिरामीलाई धरान रेफर
विराटनगर, ३० फागुन । कोरोना भाइरस (कोभिड १९) संक्रमणको आशंका गरिएको दुई विरामीलाई कोशी अस्पताल विराटनगरले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरेको छ । उनीहरूको परिचय र उमेर समूह गोप्य राखिएको छ ।
तर, दुवैजना केही दिनअघि मात्र विदेशबाट आएको बताइएको छ । कुन देशबाट आएका हुन भन्ने पनि खुलाइएको छैन । रुघाखोकी र ज्वरोको लक्षण देखिएका दुई जनालाई थप उपचारको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा रेफर गरिएको कोशी अस्पतालकी मेसु डा. संगीता मिश्रले बताउनुभयो ।
कोरोना आशंका गरिएका बिरामी उपचार गर्न कोसी अस्पतालमा तयार गरिएको वार्डको जिम्मेवारी सम्हालिरहनु भएका डा. लक्ष्मीनारायण यादवले दुई जनालाई थप उपचार र परीक्षणको लागि धरान पठाइएको जानकारी दिनुभयो ।
विदेशबाट आएका भनिएका दुई जनाको बारेमा अस्पतालले थप खुलाएको छैन तर रेफर गरिएको भने अस्पतालकी मेसु डा. संगीता मिश्रले भन्नुभयो, ‘हामीले शंका लागेको बिरामीको स्वास्थ्यबारे चिकित्सकले तयार गर्ने स्वास्थ्य सम्बन्धी हिस्ट्री पनि लिएका छौं । पारिवारिक स्वास्थ्य अवस्थाको लगत पनि तयार गरेका छौं । उनीहरूको नमुना परीक्षण काठमाडौ पठाएर उताबाट रिपोर्ट आएपछि मात्र थप प्रस्ट हुनेछ ।’
लगातार हात धुने, सेनिटाइजर प्रयोग गर्ने, भिंडभांडमा नजाने, रुघाखोकी लागेर ज्वरो आएको र संक्रमणको शंका लागेमा अस्पताल गई स्वास्थ्य परीक्षण गराउनु पर्ने उहाँको सुझाव छ । यसैवीच बजारमा मास्क र सेनिटाइजको चरम अभाव भएपछि कोसी अस्पतालले आफ्ना चिकित्सक, कर्मचारी तथा बिरामीको लागि आफै सेनिटाइजर तथा मास्क बनाएको छ ।
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार स्पिरिटसहितका केमिकल्सको मिश्रणबाट सेनिटाइजर बनाइएको हो । कोसी अस्पतालमा दैनिक चार हजार संख्यामा बिरामीहरू उपचारको लागि आउने गरेका छन् ।