Tune to BFM 91.2|Biratnagar

कोरोना नियन्त्रण गर्न ग्रामीण क्षेत्रमा कडाई

विराटनगर, १७ वैशाख । तीव्र रुपमा फैलिइरहेको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सुरक्षा निकायले मोरङको ग्रामीण क्षेत्रमा पनि कडाई गर्न थालेका छन् । शहरमा तीव्र रुपमा फैलिइरहेको कोरोनाको संक्रमणले ग्रामीण क्षेत्र पनि प्रभावित बन्न थालेपछि त्यसविरुद्ध सुरक्षा सतर्कता बढाउन थालिएको हो ।

मास्क नलगाइकन खुलेआम हिँडडुल गर्ने, लापरबाहीपूर्ण तरिकाले गतिविधी गर्नेलाई कारबाहीको दायरामा ल्याउने तयारी भइरहेको र त्यसलाई एक÷दुई दिनमै कार्यान्वयनमा ल्याइने मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताउनु भयो । त्यसका लागि सडक र सार्वजनिकस्थललाई विशेष निगरानीमा राखेर कडाई गर्न थालिएको उहाँको भनाइ छ । कोरोना रोकथाम र नियन्त्रणका लागि विभिन्न सचेतना एवं जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरेर प्रहरीले मास्क र सेनिटाइजर वितरण पनि गरिहेको जानकारी खड्काले दिनु भयो ।

एपसी खड्काले कोरोनाविरुद्धको अभियानमा सहयोग गर्न नागरिक समाज, पेसाकर्मी, स्काउटकर्मी, सामाजिक अभियन्ता, अधिकारकर्मी, उद्योगी व्यवसायी, सर्वसाधारणसमेतलाई आह्वान गर्नु भएको छ । कोरोनाबाट जोगिनलाई मास्क र सेनिटाइजनको प्रयोग गरौँलगायतका प्लेकार्ड बोकेर सचेतनामूलक कार्यक्रम सञ्चालनको अभियान नै चलाइएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माले बताउनु भयो ।

उहाँले सबैको सहयोग लिँदै कोरोना नियन्त्रणका लागि संयुक्त रुपमा सुरक्षाकर्मी खटिन थालेको जानकारी दिनु भयो । विशेष गरेर सडक प्रयोगकर्ता, सवारी चालक र यात्रुले मास्क नलगाउने गरेको पाइएको उहाँको भनाइ छ । शर्माले मास्क नलगाउनेलाई कोरोनाबाट बच्नका लागि तत्काल लगाउन सुझाव दिँदै उपलब्ध पनि गराउन थालिएको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button