कोरोना परीक्षणको दायरा बढ्यो
विराटनगर, २८ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको परीक्षणको दायरा बढाएको छ । उपत्यका सहित ११ स्थानमा कोरोनाको परीक्षण सुरु भएसँगै दायरा बढेको हो । पछिल्लो २४ घण्टामा काठमाडौंमा ४ सय १ र बाहिर २ सय २९ गरी ६ सय ३० जनाको कोरोना परीक्षण भएको मन्त्रालयले जनाएको छ ।
सो अवधिमा नयाँ संक्रमित भेटिएको छैन । यो सँगै नेपालमा कोरोनाको आशंकामा परीक्षण भएका नमूनाको संख्या ३ हजार ५ सय २४ पुगेको छ । अहिले पनि ८ सय बढीको नमूना परीक्षण भइरहेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताउनुभयो ।
डा देवकोटाका अनुसार उपत्यका भित्र १५ र बाहिर १ सय १० गरी १ सय २५ जना आईसोलेसनमा भर्ना भई उपचार भइरहेको छ । ८ हजार ६ सय ६० जना क्वारेन्टाइनमा छन ।
कैलालीमा ३ सय ३९, कञ्चनपुरमा १ सय ३७, कपिलवस्तुमा २१ र बागलुङमा १९ जनाको नमूना परीक्षण भएका छन् । परीक्षण भएका सबै रिपोर्ट नेगेटिभ आएको प्रवक्ता देवकोटाले बताउनुभयो ।