Tune to BFM 91.2|Biratnagar

कोरोना बाट आतंकित हुनु पर्ने अवस्था छैन : मन्त्री घिमिरे

विराटनगर २३ फागुन । प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना भाईरसबाट आतङ्कित हुनु पर्ने अवस्था नभएको बताउनुभएको छ । भाईरसको संक्रमणबाट जोगिनका लागि उच्च सर्तकता अपनाईएको मात्रै भएकाले आतंकित भईहाल्ने अवस्था नभएको उहाँले बताउनुभयो ।

विराट व्यापार संघले आज आयोजना गरेको होली मिलन कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो । उहाँले अहिलेलाई सावधानी मात्रै अपनाउँदा हुने बताउनुभयो । सामाजिक विकास मन्त्री घिमिरेले विद्यालय बन्द गर्नुपर्ने अवस्था नभएको बताउनुभयो ।

विद्यालयमा विद्यार्थी आउनासाथ सावुनपानीले हात धोएर कक्षाकोठामा प्रवेश गर्ने प्रवन्ध गर्न उहाँले विद्यालयलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो,‘ अहिले नै विद्यालय बन्द गर्नुपर्ने अवस्था छैन ।’

संक्रमित भएकालाई उपचार गर्नेका लागि आवस्यक प्रवन्ध प्रदेश सरकारले गरिसकेको उहाँले बताउनुभयो । हल्लाको पछाडी नलागी सावधानी पुर्वक होली पर्व मनाउन उहाँले आग्रह गर्नुभयो । रंगको टिका लगाएर पर्व मनाउन सकिने उहाँले बताउनुभयो । मन्त्री घिमिरेले भन्नुभयो,‘ रंग लगाउनु पुर्व सावुन पानीले हात धोएर टिका लगाउनु होला ।’

विराट व्यापार संघको होली कार्यक्रममा पनि मन्त्री घिमिरे र संघका अध्यक्ष सुजन थापाले हात धोएर टिका लगाईदिनु भएको थियो । अध्यक्ष थापाले होलीका लागि यस वर्ष अनुकुल परिस्थिति नरहेकाले पर्वका रुपमा सामान्य ढंगले मनाउन आग्रह गर्नुभएको थियो ।

होली मिलन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मदन भुजेल, नेकपा केन्द्रिय सदस्य महेश रेग्मी, मोरंग काँग्रेसका सचिव मोदराज घिमिरे लगायतका नेता, उद्योगी, व्यवसायीको सहभागिता रहेको थियो ।

कार्यक्रममा झोराहाट नाट्य समूहले कोरोना भाईरस संवन्धिको सचेतनामुलक नाटक मञ्चन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button