Tune to BFM 91.2|Biratnagar

कोरोना भाइरसबाट अमेरिकामा २० हजार ५ सयको मृत्यु

विराटनगर ३० चैत । अमेरिकामा कोरोना भाइरसबाट मर्नेको संख्या २० हजार ५ सय नाघेको छ । कोरोनाबाट अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु हो ।

मृत्युको संख्यामा अब अमेरिकाले इटालीलाई पनि उछिनेको छ । आज साँझ सम्म इटालीमा १९ हजार ४६८ जनाको मृत्यु भएको छ । अमेरिकामा संक्रमित पनि सबैभन्दा बढी छन् । त्यहाँ संक्रमित हुनेको संख्या ५ लाख ३३ हजार नाघेको छ ।

उता बेलायतमा पनि कोरोनाबाट एकैदिन ९ सय १७ व्यक्तिको मृत्यु हुँदा मृतकको संख्या ९ हजार ८ सय कटेको छ । त्यहाँ लगातार दोस्रो दिन पनि ९ सय जनाको मृत्यु भएको हो । शुक्रबार पनि त्यहाँ ९ सय ८० जनाको मृत्यु भएको थियो ।

संक्रमितको संख्या ८० हजार नजिक पुगेको छ । भाइरस संक्रमणका कारण विश्वभर भने मृत्यु हुनेको संख्या एक लाख ९ हजार नाघ्दा संक्रमित हुनेको संख्या झण्डै १८ लाख पुगेको छ । १७ लाख ९२ हजार बढि कोरोनाबाट संक्रमित भएका मध्ये चार लाख ९ हजारभन्दा बढी मानिस निको भएर घर फर्किएका छन् भने करिब ५० हजारभन्दा बढीको अवस्था गम्भीर रहेको छ ।

मृत्यु हुनेमा स्पेनमा करिब १७ हजार पुगेको छ । स्पेनमा संक्रमित हुनेको संख्या १ लाख ६६ हजार नाघ्दा इटालीमा पनि संक्रमितको संख्या १ लाख ५२ हजार नाघेको छ । फ्रान्समा मृतकको संख्या १३ हजार ८ सय नाघेको छ ।

इरानमा मृतकको संख्या ४३ सय नाघ्दा चीनमा यो संख्या ३३ सय ३९ छ । जर्मनीमा मृत्यु हुनेको संख्या २८ सय नाघ्दा बेल्जियममा ३३ सय नाघेको छ भने नेदरल्याण्डस्मा २६ सय नाघेको छ । भारतमा २८९ जनाको मृत्यु हुँदा ८ हजार ५ सयभन्दा बढी संक्रमित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button