Tune to BFM 91.2|Biratnagar

कोरोना भाइरसबाट ७५ जनाको मृत्यु, प्रदेश १ मा ४० जना संक्रमित थपिए

विराटनगर, २५ साउन । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दैै आएको नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएको जानकारी दिनुभयो । मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिकाका ६२ वर्षीय एक पुरूष र पर्सा वीरगञ्जकी २० वर्षीया महिला हुन् ।

यसैगरी नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ सय ८० जना संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो । अहिलेसम्म संक्रमण मुक्त हुनेको संख्या १६ हजार ३ सय ५३ पुगेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

प्रदेश १ मा आज ४० जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २९, सुनसरीमा ६ र झापामा ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा १० महिला १९ पुरुष, सुनसरीको धरानमा १ महिला २ पुरुष, ईटहरीमा १ महिला १ पुरुष, बर्जुमा १ पुरुष, झापाको बार्हदशीमा १ महिला १ पुरुष, अर्जुनधारा २ र दमकमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ४ सय २३ पुगेको छ । प्रदेश १ मा आज ५ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत मोरंगका ३, उदयपुर र सुनसरीका १–१ जना डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ९ सय १५ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार १ सय ८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १३ महिला र २७ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हाल सम्म ५३ हजार १ सय ३३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button