Tune to BFM 91.2|Biratnagar

कोरोना भाइरस बाट दक्षिण एसियामा एक सय ९३ मानिसको मृत्यु

विराटनगर, २४ चैत । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट दक्षिण एसियामा एक सय ९३ मानिसको ज्यान गएको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयले तयार पारेको तथ्यांकअनुसार यो क्षेत्रमा संक्रमितको संख्या पनि आठ हजार तीन सय ४४ पुगेको छ । दक्षिण एसियाकै सबैभन्दा ठूलो मुलुक भारत कोरोना भाइरसबाट सबैभन्दा प्रभावित मुलुक बनेको छ । अहिलेसम्म भारतमा यसबाट एक सय १८ जनाको मृत्यु भइसकेको छ ।

त्यहाँका चार हजार तीन सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये ३ सय २८ जना उपचारपछि घर फर्केका छन् । दक्षिण एसियाको दोस्रो प्रभावित पाकिस्तान हो । यहाँका तीन हजार दुई सय ७७ मानिसको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आउँदा यसबाट ५० जनाको मृत्यु भएको छ ।

त्यहाँ २ सय ५७ जना उपचारपछि घर फर्केका छन् । कोरोना भाइरसबाट बंगलादेशमा १३, अफगानिस्तानमा ७ र श्रीलंकामा ५ जनाको मृत्यु भइसकेको छ । दक्षिण एसियाका ८ वटै देशमा कोरोनाको संक्रमण देखिए पनि मृत्यु भने ५ देशमा मात्रै भएको छ । ३ देश माल्दिभ्स, भुटान र नेपालमा हालसम्म कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन ।

यो समाचार पार्दासम्म विश्वभरमा संक्रमितको संख्या १२ लाख ८२ हजारभन्दा बढि पुगेको छ । मृतकको संख्या ७० हजार नाघेको छ भने २ लाख ६९ हजार भन्दा बढि उपचारपछि निको भएर घर फर्केका छन् । विश्वमा सबैभन्दा बढि अमेरिकामा करिब ३ लाख ३७ हजार मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button