Tune to BFM 91.2|Biratnagar

कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारद्धारा ३ करोड ८५ लाख निकाशा

विराटनगर, २३ वैशाख । कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि प्रदेश १ सरकारले ३ करोड ८५ लाख रुपैयाँ निकाशा गरेको छ । कोरोना जनसुरक्षा कोष, कोष सञ्चालक समितिको विहीबार बसेको बैठकले प्रदेशका स्वास्थ्य संस्थाहरूमा कोरोना भाईरस, कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि आवश्यक पर्ने रकम निकासा गर्ने निर्णय गरेको हो ।

कोशी अस्पताल, कोभिड–१९ उपचार केन्द्र लगायतका अस्पतालहरूको लागि आवश्यक पर्ने सेनिटाइजर, मास्क, पि.पि.ई. सेट एन्टिजेन किट, आकस्मिक औषधि लगायतका कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारसँग सम्बन्धित सामाग्रीहरूको व्यवस्थापनका लागि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, विराटनगरलाई ५० लाख विनियोजन गरिएको छ । कोभिड–१९ उपचार केन्द्र संचालन तथा व्यवस्थापनका लागि मेची अस्पताललाई २५ लाख, जिल्ला अस्पताल, सुनसरीलाई २० लाख, जिल्ला अस्पताल, धनकुटा र उदयपुर कोभिड–१९ अस्पताल (आइसोलेसन सेन्टर), बेलटारलाई. २०–२० लाख निकाशा गर्ने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

आइसोलेसन स्थापना, संचालन तथा उपचार सेवाका लागि जिल्ला अस्पताल, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, संखुवासभा, उदयपुर, सोलुखुम्बु, खोटाङ्ग, ओखलढुंगा, मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर र जिल्ला अस्पताल, ताप्लेजुङलाई १ करोड १५ लाख निकाशा दिने निर्णय कोरोना जनसुरक्षा कोषको बैठकले गरेको छ ।

होल्डिङ सेन्टर सञ्चालन व्यवस्थापन लगायतका कार्यका लागि जिल्ला प्रशासन कार्यालय, झापालाई २० लाख, सुनसरी र इलामलाई १५–१५ लाख , जिल्ला प्रशासन कार्यालय, मोरङलाई २० लाख, ओखलढुंगाको हर्कपुरमा होल्डिङ्ग सेन्टर संचालन तथा व्यवस्थापनका लागि १५ लाख र जिल्ला प्रशासन कार्यालय, भोजपुर, तेह्रथुम, संखुवासभा, धनकुटा, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, पाँचथर र ताप्लेजुङलाई होल्डिङ सेन्टर सञ्चालन व्यवस्थापन लगायतका कार्यका लागि ५–५ लाखका दरले ५० लाख निकाशा दिने निर्णय भएको मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button