Tune to BFM 91.2|Biratnagar

कोरोना रोकथाम र नियन्त्रणमा सरकार असफल : शेखर कोइराला

विराटनगर, २ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विकास खर्च कटौती गरेर तत्काल खोप खरिद गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।आज आफ्नै निवासमा मकालु संवाददातासँग कुरा गर्दै कोइरालाले अनुदानमा नमागेर विश्व समुदायलाई हामी खोप खरिद गर्छौं भन्ने सन्देश दिनुपर्ने बताउनुभयो । सबै विकास निर्माणका काम रोकेर खोप खरिद गरी जनताको ज्यान बचाउनेतर्फ लाग्न सरकारसँग आग्रह गर्नुभयो ।

भारत र चीनबाट मात्रै नभएर विश्वका अन्य खोप उत्पादक राष्ट्रसँग सम्पर्क गरेर जतिसक्दो छिटो खोप खरिद गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।स्थानीय, प्रदेश र संघीय सरकार मिलेर युद्धस्तरमा अस्थायी अस्पताल बनाउनु आवश्यक रहेको कोइरालाले उल्लेख गर्नुभयो । उहाँले वडा तहसम्मै आइसोलेसन बनाउनुपर्नेमा समेत जोड दिनुभयो ।अक्सिजन प्लान्ट र अक्सिजनको जोहो गरेर वितरण प्रणालीलाई समेत व्यवस्थित बनाउन उहाँले आग्रह गर्नुभयो । उहाँले कोरोना महामारी नियन्त्रण र रोकथाममा सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको आरोप लगानुभयो ।

कोरोनो नियन्त्रणमा सरकार नै अनभिज्ञ भएको बताउनुभयो । एक अर्को प्रसंगमा कोइरालाले वर्तमान सरकारलाई विस्थापित गरेर जनता समाजवादी पार्टीको नेतृत्वमा सरकार बनाउन पहल गर्न नसक्नु कांग्रेसको कमजोरी रहेको टिप्पणी गर्नुभयो ।प्रधानमन्त्री केपी शर्मा ओलीको पुस ५ को कदमपछि राजनीतिक दलहरुमा धु्रवीकरण बढेको उहाँको टिप्पणी थियो । उहाँले दलहरुबीच धु्रवीकरण बढ्दा लोकतन्त्र नै कमजोर बन्ने अवस्था आएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button