Tune to BFM 91.2|Biratnagar

कोरोना शंकास्पद वृद्धाको मृत्यु

विराटनगर, ३२ साउन । कोरोना भाइरस संक्रमणको आशंका गरिएकी विराटनगर महानगरपालिका–३ की ८७ वर्षीया वृद्धाको मृत्यु भएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि उनका ५६ वर्षीय छोरालाई भने गत मंगलबार नै मारवाडी सेवा सदनको आइसोलेसनमा भर्ना गरिएको छ ।

छोरा आइसोलेसनमा उपचाररत रहेकै अवस्थामा कोरोना शंकास्पद वृद्धाको भने उपचारका लागि लैजान नपाउँदै गयराति ९ बजेतिर आफ्नै घरमा मृत्यु भएको हो ।

छोरालाई आइसोलेनसमा भर्ना गरिएपछि ज्वरो आउने लगायत कोरोनासँग मिल्ने लक्षण देखिएकाले बुधबार वृद्धाको पनि पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।

तर परीक्षण गर्न दिएको लामो समयसम्म रिपोर्ट प्राप्त हुन नसक्दा उनको शव व्यवस्थापन कसरी गर्ने भन्ने तनाव परिवारका सदस्य र आफन्तलाई भएको छ ।

प्रदेश १ को पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका अधिकृतसमेत रहेका वृद्धाका छोरा चालक र कार्यालयका अरु दुई अधिकृतसहित गत साउन १८ गते कृषि र भेटेरिनरीको अनुगमन निरीक्षणका लागि ओखलढुंगा र सोलुखुम्बु गएका थिए ।

चार जना गएका मध्ये त्यहाँबाट फर्कने क्रममा चालकसहित दुई जनालाई ज्वरो आएको थियो । विराटनगर झरेर तीन जनाले कोरोनाको आशंका गर्दै गत सोमबार परीक्षणका लागि स्वाब दिएका थिए । रिपोर्ट भोलिपल्ट मंगलबार पोजेटिभ आएपछि उपचारका लागि उनलाई भने आइसोलेनसमा भर्ना गरियो ।

उनीसँगै पहाडी जिल्लाको अनुगमनमा गएका चालकमा पनि कोरोना देखिएको छ । परीक्षण गराएकामध्ये अर्का एक अधिकृतको रिपोर्ट भने नेगेटिभ आएको छ । एक जना अधिकृतले भने आफूलाई कोरोनाको कुनै पनि लक्षण नदेखिएको भन्दै पीसीआर परीक्षण नै नगराएको कार्यालयले जनाएको छ ।

ती अधिकृतलाई आइसोलेसनमा भर्ना गरेर वृद्धा आमा, श्रीमती, दाजु, भाउजू, छोरा तथा दाजुका छोरी र ज्वाईको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । तर ज्वरो आउने लगायत समस्या देखिएपछि पीसीआर परीक्षणका लागि दिइएका आमासहित उनका पारिवारिक सम्बन्धका छ जनाकै रिपोर्ट अहिलेसम्म प्राप्त भएको छैन ।

स्थानीय कुमार धमलाले स्वाब दिएको लामो समयसम्म रिपोर्ट नआएको र वृद्धाको घरमै मृत्यु भइसकेको बताउनु भयो । कोरोना शंकास्पद सर्वसाधारणले घरमै ज्यान गुमाउने अवस्था आउनु र मृत्यु भइसक्दा पनि रिपोर्ट प्राप्त नहुनु दुःखद् भएको धमलाको गुनासो छ ।

वृद्धाको मृत्यु कोरोनाका कारण भएको यकिन भएमा शव सेनाले व्यवस्थापन गर्ने र वृद्धामा कोरोना नभएको पाइएमा अन्त्येष्टिका लागि परिवारलाई दिइने महानगरको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button