Tune to BFM 91.2|Biratnagar

कोरोना संक्रमणबाट आज दोस्रो ब्यक्तिको मृत्यु

विराटनगर, ४ जेठ । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । आज बाँकेको क्वारेन्टाइनमा रहेका २५ वर्षिय पुरुषको कोरोना भाइरसकै कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बाँकेको नरैनापुर ५ का २५ वर्षिय युवकको कोरोना भाइरस संक्रमणका कारण निधन भएको हो । गत वैशाख ३० गते भारतबाट आएका ती युवकमा गएरातिबाट ज्वरो र झाडापाखाला लगायतका समस्या देखिएको थियो । उनको आज बिहान क्वारेन्टाइनमै निधन भएको हो ।

उनको स्वाव परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको प्रवक्ता देवकोटाले बताउनुभयो । घटनाको विवरण आउन बाँकी रहेको उहाँले बताउनुभएको छ । यसअघि धुलिखेल अस्पतालमा २९ वर्षिया सुत्केरी महिलाको कोरोना भाइरसकै कारण मृत्यु भएको थियो ।

धुलिखेल अस्पतालमा निधन भएकी महिलाको कन्ट्याक्ट ट्रेसिङ भइरहेको मन्त्रालयले जनाएको छ । सोहीक्रममा उपत्यकाका विभिन्न स्थानमा ४ सय बढीको नमुना परीक्षणको तयारी मन्त्रालयले गरेको छ ।

जसमा १ सय ५० जनाको पिसिआर र २ सय ५० आरडिटी परीक्षणका लागि नमुना संकलन सुरु भएको उहाँले बताउनुभयो । आइतबार संक्रमितको संख्या २ सय ९१ पुगेको छ । ३६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । गत २४ घण्टामा पिसिआर विधिबाट १ हजार ४ सय ६९ वटा नमुना परीक्षण भएका छन् ।

आरडिटी विधिबाट २ हजार २० वटा गरी जम्मा ३ हजार ४ सय ८९ वटा परीक्षण भएका छन् । अहिलेसम्म पिसिआर विधिबाट २८ हजार १ सय ६० र आरडिटी विधिबाट ६७ हजार ७ सय ६९ वटा परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो । अहिले देशभरी १८ हजार ३ सय ५७ जना क्वारेन्टाइनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button