Tune to BFM 91.2|Biratnagar

कोरोना संक्रमणबाट एक बालक सहित ४ जनाको मृत्यु

विराटनगर, २१ कात्तिक । मोरङ र सुनसरीमा कोरोना संक्रमणबाट आज एक बालक सहित ४ जनाको मृत्यु भएको छ । विराटनगरको न्युरो अस्पताल र कोशी अस्पताल कोभिड -१९ उपचार केन्द्रमा उपचाररत कोरोना संक्रमित दुई महिलाको आज बिहान मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका-७ की ५१ वर्षीया महिलाको उपचारका क्रममा बिहान ८ बजेतिर न्युरो अस्पतालमा मृत्यु भएको छ । अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएपछि गत बुधबार महिलालाई उपचारका लागि अस्पताल भर्ना गरिएको जानकारी दिनु भयो ।

मृतकमा श्वासप्रश्वास र उच्च रक्तचाप सम्बन्धी समस्या रहेको उहाँको भनाइ छ । त्यस्तै धनकुटा-४ की ३२ वर्षीया महिलाको कोशी कोभिड उपचार केन्द्रमा बिहान ८ः१५ बजेतिर मृत्यु भएको छ ।

उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार पीसीआर परीक्षण गराउँदा हिजो कोरोना पुष्टि भएपछि उनलाई साँझ उपचारका लागि भर्ना गरिएको थियो । मृतकमा श्वासप्रश्वासको समस्या देखिएको बस्नेतको भनाइ छ ।

यसैबिच बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत कोरोना भाइरस संक्रमित एक वृद्धा महिला र एक बालकको मृत्यु भएको छ । वृद्धा धरान र बालक उदयपुरका हुन् । उदयपुरको कटारीका १४ वर्षीय बालकको आज बिहान ९ः५० बजेतिर मृत्यु भएको प्रतिष्ठानका सह-प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिनु भयो ।

उहाँका अनुसार विराटनगरको नोबेल शिक्षण अस्पतालले थप उपचारका लागि रेफर गरेपछि बालकलाई कात्तिक १६ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । पीसीआर परीक्षण गराउँदा कात्तिक १२ गते बालकको रिपोर्ट पोजेटिभ आएको थियो ।

त्यस्तै सुनसरीको धरान-१२ की ७८ वर्षीया वृद्धा महिलाको पनि उपचारका क्रममा गय राति ११ बजेतिर मृत्यु भएको छ । डा. श्रेष्ठका अनुसार पीसीआर परीक्षण गराउँदा वृद्धामा बिहीबार नै कोरोना पुष्टि भएको थियो । कोरोना रिपोर्ट पोजेटिभ आएपछि कोभिड अस्पतालमा भर्ना गरिएकी महिलाको उपचारका क्रममा ज्यान गएको उहाँले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button