Tune to BFM 91.2|Biratnagar

कोरोना संक्रमणबाट तीन जनाको मृत्यु

विराटनगर, २६ असोज । कोरोना संक्रमणबाट सुनसरीका थप तीन जनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका–२ का ८९ वर्षीय पुरुष, धरान–१५ का ७० वर्षीय पुरुष र बराहक्षेत्र नगरपालिका–५ का ३७ वर्षीय पुरुषको पछिल्लो २४ घण्टाभित्र मृत्यु भएको हो ।

कोरोना संक्रमित सुनसरीको इटहरी–५ का ९० वर्षीय पुरुषको उपचारका क्रममा विराटनगरमा आज बिहान मृत्यु भएको छ । नोबेल शिक्षण अस्पतालमा उपचाररत वृद्धको बिहान ९ बजेतिर मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताउनु भयो ।

स्वाबको पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएपछि वृद्धलाई उपचारका लागि २३ गते नोबेल ल्याइएको थियो । नोबेलकै कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको भए पनि वृद्धलाई बचाउन नसकिएको दाहालको भनाइ छ ।

आईसीयूमा उपचाररत वृद्धमा मधुमेह, दम, युरिक एसिड लगायतका पुरानै समस्या रहेको जानकारी उहाँले दिनु भयो ।

यसैबिच सुनसरीको बराह क्षेत्रका एक जना कोरोना संक्रमित पुरुषको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको छ । अस्पताल प्रबन्धक नारायण दाहालका अनुसार बराहक्षेत्र नगरपालिका–५ का ३७ वर्षीय पुरुषको बिहान ६ः५० बजेतिर मृत्यु भएको हो ।

पुरुषको गत शनिबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको उहाँले बताउनु भयो । उपचारका लागि हिजो साँझ ६ः२५ बजेतिर नोबेल ल्याइएका पुरुषलाई राति १२ बजे कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको दाहालले बताउनु भयो ।

उहाँका अनुसार दुवै मृगौलामा पहिल्यैदेखि समस्या रहेका मृतकले विगत केही वर्षदेखि मृगौलाको नियमित डाइलासिस गराउँदै आएका थिए ।

उता बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक जना कोरोना भाइरस संक्रमित वृद्ध पुरुषको गय राति मृत्यु भएको छ । धरान उपमहानगरपालिका–२ का ८९ वर्षीय पुरुषको राति ११ बजे मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिन’ भयो ।

वृद्धमा असोज २३ गते कोरोना पुष्टि भएपछि प्रतिष्ठानकै कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको थियो । मृतकमा उच्च रक्तचापको पुरानै समस्या थियो । डा. श्रेष्ठले शवको व्यवस्थापन नियम अनुसार हुने जानकारी दिन’ भयो ।