Tune to BFM 91.2|Biratnagar

कोरोना संक्रमणबाट नेपालमा १ सय २ जनाको मृत्यु, २६ हजार संक्रमित

विराटनगर, ३१ साउन । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या एक सय नाघेको छ । आज थप ३ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएसँगै मृतकको संख्या एक सय नाघेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु, पर्सा र धनुषाका १—१ जना गरी थप ३ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या १ सय २ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कपिलवस्तुको मायादेवी—७ का ४० वर्षिय पुरुषको साउन ३१ गते उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । यस्तै पर्साको विरगञ्ज महानगरपालिका—१२ का ६० वर्षिय पुरुषको साउन ३० गते नारायण्ी अस्थायी कोरोना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । धनुषाको जनकनन्दनी गाउँपालिका ४ का ५० वर्षिय पुरुषको साउन २९ गते कोरोनाबाट मृत्यु भएको हो ।

प्रदेश नम्बर १ मा ९ जना, प्रदेश २ मा ४४ जना, बागमती प्रदेशमा १८ जना र गण्डकी प्रदेशमा ६ जनाको कोरोनाबाट मृत्यु भएको छ । यस्तै प्रदेश ५ मा १३ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ८ जनाको मृत्यु भएको छ । जसमा ८० जना पुरुष र २२ जना महिला रहेका छन । नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार नाघेको छ । ४ सय ६८ जना थप संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या २६ हजार १९ पुगेको हो । ११ हजार ४७ पीसीआर परीक्षणमा ४ सय ६८ जनामा संक्रमण देखिएको हो ।

आज विभिन्न अस्पतालबाट १ सय २४ जना संक्रमित निको भएर घर फर्किएका छन । आइसोलेसनमा ८ हजार १ सय ९३ जना संक्रमित उपचाररत रहेका छन । आज आइसियुमा ९८ र भेन्टिलेटरमा ४ जना संक्रमित उपचाररत रहेका छन । आज क्वारेन्टिनमा १४ हजार ४ सय ४८ जना रहेका छन । मन्त्रालयले संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुलाई ५ दिनपछि मात्रै कोरोना परीक्षण गर्न आग्रह गरेको छ ।

संक्रमण पोजेटिभ भएको व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुले तत्कालै परीक्षणका लागि स्वाव दिने गरेको पाइएको भन्दै प्रवक्ता गौतमले तत्कालै परीक्षण गर्दा नतिजा नेगेटिभ आएपछि कोरोना पोजेटिभ हुने सम्भावना बढी रहने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button