Tune to BFM 91.2|Biratnagar

कोरोना संक्रमण बढ्दै गएपछि मोरंगका ९ स्थानीय तहमा लकडाउन

विराटनगर, २२ साउन । कोरोना भाईरसको संक्रमण बढ्दै गएपछि मोरंगका ९ वटा स्थानीय तहमा लकडाउन गरिएको छ ।कोरोना भाईरस संक्रमणको अवस्था विश्लेषण गरि रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहले आवस्यक कदम चाल्न सक्ने प्रदेश सरकारले निर्णय गरेसँगै स्थानीय तहहरुलाई लकडाउन लगाउने बाटो खुलेको थियो ।

साउन १६ गते विराटनगर महानगरपालिकाले संक्रमण बढेको भन्दै पहिलो पटक लकडाउन गरेको थियो ।आजसम्म मोरंगमा लकडाउन गर्ने स्थानीय तहको संख्या ९ पुगेको छ । मोरंगका विराटनगर, रंगेली, रतुवामाई, धनपालथान, सुनबर्षी, सुन्दरहरैचा, पथरीशनिश्चरे, बेलबारी, कानेपोखरीले लकडाउन गरेका छन् ।

मोरंगका जहदा र कटहरी गाउँपालिकाले लकडाउनको घोषणा नगरेपनि कार्यालय र गाउँपालिका अन्र्तगतका वडा कार्यालय बन्द गरेका छन् । ग्रामथान, मिक्लाजुङ, उर्लाबारी, केराबारी, बुढीगंगा, लेटाङमा लकडाउन गरिएको छैन । ६ वटा स्थानीय तहरुले अत्यावस्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गरेको बताएका छन् ।

संघीय सरकारले कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका गत चैत ११ गतेदेखि शुरु गरेको लकडाउन साउन ७ गतेदेखि हटाएको थियो । साउन ७ गते सम्म मोरंगमा कोरोना संक्रमितको संख्या २ सय ११ थियो । लकडाउन खुलेको दुई सातामै मोरंगमा २ सय १९ जना थपिए । मोरंगमा आज सम्म संक्रमितको संख्या ४ सय ३० पुगेको छ ।मोरंगका १७ वटै स्थानीय तहमा संक्रमण फैलिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button