Tune to BFM 91.2|Biratnagar

कोरोना संक्रमितको उपचार बन्द गर्न म्याक्स हस्पिटललाई निर्देशन

विराटनगर, २४ कात्तिक । कोरोना संक्रमितको उपचार गर्दै आएको विराटनगरको म्याक्स हस्पिटललाई सेवा बन्द गर्न प्रशासन कार्यालयले निर्देशन दिईएको छ ।

कोरोना संक्रमण भएका विरामीहरुलाई सेवा दिइरहेका अस्पतालको अनुगमन गर्ने क्रममा म्याक्स हस्पिटलले अनुमति पत्र देखाउन नसकेको र कोभिडका लागि चाहिने न्युनतम स्वास्थ्य संवन्धि शर्तहरु पुरा गरेको नपाईएकाले बन्द गर्न प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले निर्देशन दिएका हुन ।

प्रशासन कार्यालयले कोभिडका लागि आवस्यक जनशक्ति, संक्रमितको उपचारका लागि अनुमति प्राप्त नगर्दा सम्म र स्वास्थ्य संवन्धि अन्य शर्तहरु पुरा नगर्दा सम्म बन्द गर्न निर्देशन दिएको जनाएको छ । प्रशासन कार्यालयले हस्पिटललाई काटेको पत्रमा उपचाररत विरामीलाई अन्यत्र व्यवस्थापन गर्न र उपचारवापतको शुल्क नेपाल सरकारले तोके भन्दा बढी नलिन पनि भनिएको छ । प्रशासन कार्यालयले म्याक्स हस्पिटललाई लिखित जवाफ सहित अनुमति विना संवेदनशिल सेवा सञ्चालन गर्नुको कारण माग गरेको छ ।

प्रशासन कार्यालयले विरामीको उपचार गर्दा सरकारले तोकेको आईसोलेसन संवन्धि निर्देशिका २०७७ लगायतका विधि र मापदण्ड पालना गर्नुपर्छ की पर्दैन, विधि र प्रकृया पुरा नगरी सेवा सञ्चालन गर्दा हुने अनपेक्षित परिणामको जवाफ कसले दिने र संक्रामक ऐन २०२० अनुसार कारवाही किन नगर्ने भनि जवाफ माग गरेको छ ।

म्याक्स अस्पतालका प्रशासन प्रमुख हेमनारायण मेहताले स्थानीय सरकारको अनुमतिमा सेवा शुरु गरिएको बताउनुभयो । आवस्यक कागजात जुटाउने क्रममा रहेको उहाँले बताउनुभयो । प्रदेश सरकारसँग पनि अनुमति लिने क्रममा रहेको मेहताले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button