Tune to BFM 91.2|Biratnagar

कोरोना सङ्क्रमणका कारण पूर्वराज्यमन्त्री घिमिरेको निधन

विराटनगर, ९ जेठ । कोरोना भाइरस सङ्क्रमणका कारण विराटनगरका बासिन्दा पूर्वराज्यमन्त्री ९१ वर्षीय राधाप्रसाद घिमिरेको निधन भएको छ । कोरोना पुष्टि भएको केही बेरमै विराटनगर महानगरपालिका–२ का घिमिरेको गयराति ९ बजेतिर निधन भएको हो । उहाँलाई केही दिनदेखि श्वासप्रश्वासमा समस्या देखिएको थियो । थप अस्वस्थ्य बनेपछि पीसीआर परीक्षण गराउँदा हिजोसाँझ घिमिरेलाई कोरोनाको सङ्क्रमण रहेको पत्ता लागेको हो । नागरिक अगुवा रामबाबु दाहालका अनुसार कोरोना सङ्क्रमण यकिन भइसकेपछि उपचारका लागि नोबेल शिक्षण अस्पताल लैजाँदै गर्दा बाटैमा पूर्वराज्यमन्त्री घिमिरेको निधन भएको हो ।

घिमिरेले पञ्चायत कालमा नौवटा मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी सम्हाल्नु भएको थियो । २०३२ सालमा तत्कालीन राजा स्वः वीरेन्द्र शाहले उहाँलाई पहिलो पटक सूचना तथा सञ्चार राज्यमन्त्री बनाएको दाहालले बताउनु भयो । त्यसपछि अढाई वर्षको अवधिमा सूचना तथा सञ्चार, सामान्य प्रशासन, उद्योगसमेतका नौवटा मन्त्रालयमा क्याविनेटस्तरको राज्यमन्त्रीको भूमिकामा घिमिरे रहेको उहाँको भनाइ छ । २०१७ सालसम्म कम्युनिष्ट पार्टीमा आवद्ध रहनु भएका उहाँले नै मोहनविक्रम सिंहलाई पार्टी सदस्यता प्रदान गरेको दाहालले बताउनु भयो । उहाँका अनुसार पञ्चायती व्यवस्था सुरु भएपछि कम्युनिष्ट पार्टीमा केन्द्रीय सदस्य रहनु भएका घिमिरे पार्टी परित्याग गर्दै पञ्चायतमा प्रवेश गर्नु भएको हो । उमेरले नेटो काट्दै गएपछि राजनैतिक जीवनलाई उहाँले निरन्तरता दिनसक्नु भएन ।

तर सामाजिक र वौद्धिक क्षेत्रमा घिमिरेको सक्रियता कायमै रहेको एलिट क्लबका महासचिव एवं वरिष्ठ पत्रकार यज्ञ शर्माले बताउनु भयो । घिमिरे विराटनगरमा २०१५ सालमा स्थापना भएको एलिट क्लबका संस्थापक हुनुहुन्थ्यो । क्लबका महासचिव शर्माका अनुसार एलिट क्लब समाजका सबै पेसा र विचार भएका वौद्धिक व्यक्तिआवद्ध साझा संस्था हो । १० जना संस्थापकमध्ये तीन जना जीवित रहेकोमा घिमिरेको कोरोनाका कारण निधन भएको उहाँले बताउनु भयो । पूर्वराज्यमन्त्री घिमिरेको निधनले वौद्धिक र सामाजिक क्षेत्रमा अपूरणीय क्षति पुगेको वरिष्ठ पत्रकार शर्माको भनाइ छ । उहाँका जेठो छोरा पारस घिमिरे नेपालबाट म्यानमारका लागि पूर्वराजदूत हुनुहुन्छ । यसअघि नै श्रीमती गुमाउनु भएका घिमिरेका तीनमध्ये कान्छो छोराको पनि निधन भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button