Tune to BFM 91.2|Biratnagar

कोरोना सङ्क्रमित तीन वृद्धको मोरङमा मृत्यु

विराटनगर, २५ मंसिर । मोरङमा कोरोना भाइरसबाट सङ्क्रमित बनेका तीन जना वृद्ध पुरुषको मृत्यु भएको छ । दुई जनाको उपचारका क्रममा अस्पतालमा र एक जनाको होम आइसोलेसनमा मृत्यु भएको हो । उनीहरु झापा, मोरङ र सुनसरीका हुन् ।

विराटनगरको नोबेल शिक्षण अस्पतालमा सुनसरीको रामधुनी–७ का ६३ वर्षीय वृद्ध पुरुषको आज बिहान ज्यान गएको छ । पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि उपचारका लागि वृद्धलाई २३ गते मंगलबार ल्याइएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताउनु भयो । तत्काल आइसोलेसनमा राखेर उपचार थालिए पनि वृद्धलाई बचाउन नसकिएको उहाँको भनाइ छ ।

दाहालका अनुसार वृद्ध पुरुषको उपचारका क्रममा बिहान ५ बजेतिर ज्यान गएको हो । त्यस्तै झापाको दमक–१० का ६९ वर्षीय पुरुषको विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा गय राति मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि राति ९ बजे अस्पताल ल्याइएको थियो । उपचारमा संलग्न वरिष्ठ फिजिसियन डा. दीपक सिग्देलले अस्पताल ल्याएको एक घण्टा नपुग्दै राति ९ः५० बजेतिर वृद्धको मृत्यु भएको जानकारी दिनु भयो ।

उहाँका अनुसार वृद्धलाई मधुमेह, उच्च रक्तपाच लगायतका स्वास्थ्य सम्बन्धी पुरानै समस्या रहेको पाइएको छ । यसैबीच मोरङको उर्लाबारी–१ का ८४ वर्षीय पुरुषको होम आइसोलेसनमा गय राति मृत्यु भएको छ । दमको समस्या बढेपछि उनलाई उपचारका लागि विराटनगरको ग्रीनक्रस अस्पतालमा मंसिर २० गते ल्याइएको थियो ।

पीसीआर परीक्षण गराउँदा २२ गते रिपोर्ट पोजिटिभ आएपछि परिवारका सदस्यले घरमै राख्नलाई लिएर गएको अस्पतालले जनाएको छ । उर्लाबारी नगरपालिकाले कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा राख्नभन्दै परिवारका सदस्य र आफन्तले लिएर आएका वृद्धको राति ९ बजेतिर ज्यान गएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button