Tune to BFM 91.2|Biratnagar

कोरोना सङ्क्रमित विराटनगर भन्सार एजेन्ट संघका अध्यक्षको निधन

विराटनगर, ८ जेठ । कोरोना भाइरस सङ्क्रमणका कारण विराटनगर भन्सार एजेन्ट सङ्घका अध्यक्ष विजेन्द्र परासरको आज बिहान निधन भएको छ । मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचारका क्रममा विराटनगर महानगरपालिका–१० घर भएका ५० वर्षीय परासरको बिहान ७ बजेतिर निधन भएको हो । उहाँलाई उच्च रक्तचाप र मधुमेहको पुरानै समस्या थियो ।

परासरलाई परीक्षण गराउँदा दुई साताअघि कोरोना सङ्क्रमण पनि पुष्टि भएको विराटका कोभिड अस्पताल इन्चार्ज सुनील देवले बताउनु भयो । कोरोना पुष्टि भएपछि होम आइसोलेसनमै रहेका बेला स्वास्थ्यमा थप समस्या भएपछि उहाँलाई वैशाख ३१ गने उपचारका लागि अस्पताल भर्ना गरिएको हो ।

निक्कै गम्भीर अवस्थामा अस्पताल ल्याइएका परासरलाई धेरै प्रयास गर्दा पनि बचाउन नसकिएको जानकारी देवले बताउनु भयो । उहाँका अनुसार श्वासप्रश्वासमा एक्कासि समस्या भएर उपचारकै क्रममा भेन्टिलेटरमा निधन भएको हो । परिवारका सदस्यले स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको बताइरहेका बेला एक्कासि परासरको निधनको खबर आएको विराटनगर भन्सार एजेन्ट प्रतिनिधि सञ्जय दुगडले जानकारी दिनु भयो ।

तीन महिनाअघि भएको निर्वाचनमा सङ्का पूर्वअध्यक्ष प्रवीण जोशीलाई हराउँदै परासर तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित बन्नु भएको थियो । दुगडका अनुसार २०६२ देखि २०६९ सालसम्म जोशी अध्यक्ष हुँदा परासर सङ्घमा उपाध्यक्षको भूमिकामा हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button