Tune to BFM 91.2|Biratnagar

कोशीमा कोरोना परीक्षण सुरु, पहिलो चरणमा २५ जनाको स्वाब परीक्षण हुँदै

विराटनगर, २९ चैत । कोशी अस्पताल विराटनगरमा कोरोनाको परीक्षण सुरु भएको छ । हिजो साँझबाट परीक्षण थालिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.संगिता मिश्राले जानकारी दिनुभयो । पहिलो चरणमा २५ जनाको परीक्षण हुने अस्पतालले जनाएको छ । परीक्षणको रिपोर्ट आज विहान आउने बताइएको छ ।

कोशीमा कोरोना परीक्षणको लागि वीर अस्पताल काठमाडौंका जेनेटिक साईन्टीस् तथा कोरोना परिक्षण विज्ञ समूहका बलराम गौतमको नेतृत्वमा चार जनाको टिम खटिएको छ । टिममा काठमाडौंबाटै आएका अर्का विज्ञ तथा अस्पतालमा कार्यरत प्रकाश कार्की र ललितनाराण चौधरी सहभागी छन् ।

पहिलो चरणमा परीक्षणको लागि उदयपुरबाट २ वटा, मोरङको टाँडीबाट ३ वटा, इनरुवाबाट ७ वटा, झापाबाट १३ वटा नमुना ल्याइएको छ । विराटनगरबाट गरिने कोरोना परीक्षणका लागि पहिलो चरणमा ६ सय जनाको नमूना संकलन गर्न पुग्ने केमिकलसहितका सामान बिहीबार हेलिकप्टरबाट ल्याइएको थियो । कोरोनाको परीक्षण सुरु हुनु कोशी अस्पतालको लागि ऐतिहासिक भएको मेसु डा. मिश्रले बताउनुभयो ।

परीक्षणमा खटिएको टिमलाई उहाँले धन्यवाद दिनुभएको छ । काठमाडौंपछिको ठूलो क्षमताको ल्याब स्थापना भएकोले कोशी अस्पतालमा दैनिक २ सय जनाम्मको नमुना परीक्षण हुनसक्ने बताइएको छ । कोरोना परीक्षणको काम यसअघि काठमाडौं बाहिर पहिलो पटक सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञापन प्रतिष्ठानबाट सुरु भएको थियो ।

प्रतिष्ठानको ल्याबको क्षमता सानो रहेकोमा कोशीको क्षमता ठूलो भएकोले अब प्रदेशमा कोरोनाको परीक्षण सहज हुने अस्पतालले जनाएको छ । कोरोना परीक्षण ल्याबको हिजो प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसहित सामाजिक विकासमन्त्री जीवन घिमिरेले निरीक्षण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button