Tune to BFM 91.2|Biratnagar

कोशी अस्पतालको पीसीआर परीक्षण मेसिन विग्रदा समस्या

विराटनगर, १३ साउन । विराटनगरस्थित कोशी अस्पतालले कोरोना भाइरस कोभिड– १९ को स्वाब परीक्षण गर्दै आएको पीसीआर मेसिन विग्रिएपछि समस्या भएको छ ।

हिजो दिनभर काम गरेको मेसिनमा एक्कासि समस्या देखिएपछि मर्मतका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासकाअनुसार केहीदिन यता पीसीआर मेसिनमा प्राविधिक समस्या देखिएको थिायो ।

आन्तरिक रुपमै समस्या समाधानको प्रयास गरिए पनि सम्भव नभएपछि मर्मतका लागि काठमाडौं पठाउने तयारी गरिएको जानकारी उहाँले दिनुभयो । मेसिन अभावमा काम नरोकियोस भनेर विराटनगरको एक औषधि सप्लायर्सबाट केहीसमयका लागि अर्को मेसिन जडान गरेर स्वाब परीक्षण कार्यलाई भने निरन्तरता दिइने दासले बताउनु भयो ।

काठमाडौंबाट मर्मत गरेर मेसिन ल्याएपछि सप्लायर्सले मेसिन पुनः फिर्ता लैजाने उहाँको भनाइ छ । आगामी दिनमा समस्या नआओस भन्नका लागि नयाँ मेसिन जगेडामा राखिएको अस्पतालले जनाएको छ । केही वर्षअघि केन्द्र सरकारले एचआइभी एड्सको भाइरस पहिचानका लागि दिएको मेसिन प्रयोग गरेर कोरोना संक्रमण पुुष्टि गर्न पीसीआर परीक्षण हुँदै आएको थियो ।

अस्पतालको ल्याब शाखाका अनुसार भाइरस पत्ता लगाउने कार्य अटोमेटेड र म्यानुअल्ली तरिकाबाट गर्दै पीसीआरबाट अन्तिम रिपोर्ट आउने गर्दछ । एक पटकमा कम्तीमा ७२ वटा स्वाबको रिपोर्ट दिने क्षमता मेसिनको थियो ।

अस्पतालको ल्याबमा कार्यरत ७ जना कर्मचारीले विहान ८ बजेटबाट निरन्तर बेलुका ११ बजेसम्म दैनिक दुई सय ५० वटासम्मको रिर्पोट निकाल्दै आएका थिए । अस्पतालमा कोभिड १९ वा एचआइभी भाइरस परी क्षण गर्ने एकमात्र मेसिन विग्रिएपछि थप समस्या हुन सक्ने जनाइएको छ ।

अस्पतालका अनुसार पछिल्लोकेही दिनयता ७२ वटा रिपोर्टका लागि तयार रहँदा मेसिनले १० देखि १५ वटा नमुना पहिचान नगर्ने अवस्था रहेको थियो । जसका कारण सो नमूना पुनः परिक्षण गर्नुपर्ने अवस्था थियो ।

यसैबीच, कोशी अस्पतालको सुत्केरीपछि बच्चासहित राखिने पोष्टन्याटल वार्डमा कार्यरत एक स्वास्थ्यकर्मीलाई संक्रमण पुष्टि भएपछि वार्ड सिल गरिएको मेसु डा. दासले जानकारी दिनु भयो ।

सो वार्डमा कार्यरत ३२ जना स्वास्थ्यकर्मी र कर्मचारीको स्वाब परीक्षणका लागि संकलन गरिएको छ । जसअन्र्तगत वार्डमा दुई सिफ्टमा कार्यरत २० जना नर्सिङ स्वास्थ्यकर्मी र १२ जना अन्य कर्मचारीको स्वाब संकलन गरिएको दासले बताउनु भयो । उनीहरुको रिपोर्ट आइसकेको छैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button