Tune to BFM 91.2|Biratnagar

कोशी अस्पतालमा उपचाररत थप २ जना डिस्चार्ज

विराटनगर, २८ वैशाख । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत थप २ जना आज डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा भोजपुर हतुवागढीका २६ वर्षीय उपेन्द्र राई र झापा बार्हदशीका ४० वर्षीय महाजिर आलम रहेका छन् ।

राई गत वैशाख १३ गते र आलम वैशाख १४ गते अस्पतालमा भर्ना भएका थिए । उनीहरुको पछिल्लो पटक गरिएको स्वाव परीक्षणमा कोरोना नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिएको कोशी अस्पतालकी मेडिकल सुपरीटेन्डेन्ट डा. संगीता मिश्राले बताउनुभयो ।

अस्पतालबाट डिस्चार्ज भएका दुवैजनालाई सामाजिक विकास मन्त्रालयका सचिव रविलाल पन्थ, स्वास्थ्य कार्यालय मोरंगका प्रमुख तथा कोभिड १९ उपचार केन्द्रका व्यवस्थापन संयोजक ज्ञानवहादुर वस्नेत लगायतले विदाई गर्नुभएको थियो ।

डिस्चार्ज भएका हतुवागढीका राईले गत फागुन ३० गते साउदी अरवबाट नेपाल आएको बताउनुभयो । झापा बार्हदशीका आलमले फागुन २७ गते भारतबाट घर आएको बताउनुभयो । डिस्चार्ज भएका दुवै जनाले अस्पतालले भने अनुसार क्वारेन्टाईनमा १४ दिन बस्ने बताएका छन् ।

राईले भोजपुरको घोडेटारमा निर्माण गरिएको क्वारेन्टाईनमा बस्ने बताउनुभयो । उहाँले तत्काल परिवारको सम्पर्कमा नजाने बताउनुभयो । उहाँले भन्नुभयो,‘ मेरा कारणले अरुलाई समस्या नहोस् ।’ बार्हदशीका आलमले घरमै निर्माण गरिएको क्वारेन्टाईनमा बस्ने बताउनुभयो ।

सामाजिक विकास मन्त्रालयका सचिव रविलाल पन्थले विदाई गर्दै अनिवार्य क्वारेन्टाईनमा बस्न सुझाव दिनुभयो । कोभिड अस्पतालमा उपचाररत आज २ जना डिस्चार्ज भएसँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या १६ पुगेको छ । अस्पतालमा १९ जना अहिले उपचाररत रहेको कोशी अस्पतालकी मेडिकल सुपरीटेन्डेन्ट डा. संगीता मिश्राले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button