Tune to BFM 91.2|Biratnagar

कोशी अस्पतालमा मृत्यु भएका पुरुषको रिपोर्ट नेगेटिभ

विराटनगर, २० साउन । विराटनगरको कोशी अस्पतालमा आज बिहान मृत्यु भएका पुरुषको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

संक्रमण आशंका गरेर मृत्युपछि कोशी अस्पतालकै प्रयोगशालामा स्वाब संकलन गरेर परीक्षण गराइएका उदयपुरको बेलका नगरपालिका–१ का ५५ वर्षीय वेदप्रसाद न्यौपानेमा कोरोना नदेखिएको हो । न्यौपानेलाई बेलकाबाट उपचारका लागि गयराति विराटनगर ल्याइएको थियो ।

मोरङको बूढीगंगा गाउँपालिकामा रहेको विराट टिचिङ अस्पतालमा भर्ना गर्न खोजिए पनि अस्पतालले पीसीआर परीक्षणको रिपोर्ट नभएको भन्दै भर्ना लिन नमानेपछि उनलाई कोशी ल्याइएको थियो । कोरोनाको आशंका गर्दै आइसोलेसनमा लगेर उपचारको तयारी गर्दै गर्दा बिहान १ बजे मृत्यु भएको थियो ।

केही दिनअघि उनलाई जण्डिसको समस्या देखिएको थियो । विराटनगर ल्याइपुर्याउँदा ज्वरो आउने, रिंगाटा चल्ने, वाकवाकी लाग्ने, श्वास फेर्न गाह्रो हुने लगायतका समस्या पनि देखिएको थियो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनदाल दासले कोरोनासँग मिल्ने लक्षण देखिएपछि स्वाब संकलन गरेर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको जानकारी दिनु भयो । रिपोर्ट नगेटिभ आएर कोरोना संक्रमण नभएको पुष्टि भएपछि शव परिवारका सदस्यलाई जिम्मा लगाइएको उहाँले बताउनु भयो ।

यसैबीच हिजो दिउँसो कोशी अस्पतालमै विराटनगर–५ घर भएका ७७ वर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । वृद्धको शव मोरङको कानेपोखरी जंगलमा लगेर आज नेपाली सेनाको शव व्यवस्थापन टोलीले व्यवस्थापन गरिसकेको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button