Tune to BFM 91.2|Biratnagar

कोसी अस्पतालको आइसोलेसनमा महिलाको मृत्यु

विराटनगर, ९ साउन । कोरोना भाइरसको संक्रमण भएको आशंकामा विराटनगरस्थित कोसी अस्पतालको आइसोलेसनमा भर्ना गरिएकी एक महिलाको आज दिउँसो मृत्यु भएको छ ।

सुनसरीको इनरुवा नगरपालिका–३ की ४० वर्षीया जंगलीदेवी सदाको मृत्यु भएको हो । कोरोनासँग मिल्ने लक्षण देखिएपछि उनलाई हिजो आइसोलेनसमा भर्ना गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले बताउनु भयो । उहाँकाअनुसार शुक्रबार दिउँसो २ बजेतिर महिलाको मृत्यु भएको हो ।

आइसोलेसनमा भर्ना गरेर कोरोना भएनभएको परीक्षण गर्न स्वाब संकलन गरिएको थियो । तर रिपोर्ट भने आइसकेको छैन । रिपोर्ट आएपछि मात्रै मृतकमा कोरोना संक्रमण भएनभएको पुष्टि हुने डा. दासले बताउनु भयो । उहाँकाअनुसार शंकास्पद तीन जनालाई आइसोलेनसमा राखेर परीक्षणका लागि स्वाब संकलन गरिसकिएको थियो ।

तर कसैको पनि रिपोर्ट नआइकन स्वाब संकलन गरिएकी मध्ये एक महिलाको मृत्यु भएको हो । रिपोर्ट प्राप्त भइसकेपछि मात्रै शवको व्यवस्थापन गरिने अस्पतालले जनाएको छ । अब आइसोलेसनमा उदयपुरको त्रियुगाका ६० वर्षीय एक पुरुष र मोरङ जहदाकी ६५ वर्षीया एक महिला गरेर दुई जना राखिएका छन् ।

कोसी अस्पतालले शंकास्पद बिरामीलाई आकस्मिक रुपमा राखेर परीक्षण गर्नका लागि १० बेडको आइसोलेसन वार्ड सञ्चालन गरेको छ । त्यहाँ राखेर कोरोना भएनभएको पुष्टि गर्न स्वाब संकलन गर्दै परीक्षणका लागि पठाउने गरिएको छ ।

संक्रमण भएको पाइएमा उपचारका लागि कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र पठाउने गरिएको डा. दासले बताउनु भयो । संक्रमण नभएमा होम क्वारेन्टाइनमा बस्ने गरी पठाइने उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button