क्रिकेट पिचमा भ्रष्टाचार भएको छैन : घिमिरे

0
231

विराटनगर, २८ साउन । पछिल्लो समय प्रदेशसभा र सडकमा चर्चामा रहेको मोरङको विराटनगर–१९ मा रहेको अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदानको काम रोकिएको छ । प्रदेशसभामा क्रिकेट खेल मैदान निर्माण गर्दा भ्रष्टाचार भएको विषय उठेपछि सम्बन्धित पक्ष आज खेल मैदानमै पत्रकार सम्मेलन गरेर भ्रष्टाचार नगरेको दाबी गरेको छ । बैजनाथपुर क्रिकेट मैदान तथा स्तरोन्नति व्यवस्थापन समितिका अध्यक्ष नवीन घिमिरेले पत्रकार सम्मेलनमा पिच र मैदान बनाउन कुनै किसिमको कमसल समान प्रयोग नगरेको दाबी गर्नु भयो । ‘भ्रष्टाचार गरेको र काम नै नभई विभिन्न शीर्षक बनाएर बिल भौचर पेस गरी रकम हिनामिना गरेको छैन भन्नेमा हामी क्लियर छौं,’ घिमिरेले भन्नु भयो, ‘जसले पनि काम र बिल हेर्दा हुन्छ, हामी काहीं चुकेका छैनौं ।’ यदि भ्रष्टाचार गर्ने नियत राखेका भए पिच र मैदानमा गुणस्तरीय समान प्रयोग नगरिने उहाँको भनाइ छ । सरकारसँग सम्झौता जेठ तेस्रो सातामा भएर काम सुरु भएको उहाँले बताउनु भयो । वर्खामा सम्झौता भयो र काम सुरु गर्यौं, भारतको मुम्बइका क्युरेटर सन्तोष सिंहलाई ल्याएर पिच र मैदानलाई कसरी अन्तर्राष्ट्रिय स्तरको बनाउने भनेर व्यापक छलफल गर्दै उसले भारतको विभिन्न ठाउँमा बनाइएका अन्तर्राष्ट्रिय मैदानको फर्मुला प्रयोग गरी काम गरेको उहाँको भनाइ छ । खेल मैदानमा ५ वटा अन्तर्राष्ट्रिय पिच बन्ने छ । अन्तर्राष्ट्रिय स्तरका अढाइ फिट गहिरो खाल्डो खनेर इँटा, फोड्वा गिट्टी, बालुवा प्रयोग गरिएको छ । अब यसपछि पहेंलो माटो, कालो माटो र रातो माटो प्रयोग हुन्छ भने त्यो पनि परीक्षण गरेर मात्र प्रयोगमा आउने छ । मैदान व्यवस्थापन समिति र प्रदेश सरकारबीच ८५ लाख रुपैयाँमा मैदान तयार गर्ने सम्झौता भएको हो । अहिलेसम्म ३६ लाख ५७ हजार रुपैयाँ खर्च भएको घिमिरेले बताउनु भयो । पिच र मैदान बनाउन करिब ४३ लाख मात्र लाग्ने भएपछि त्यस अनुसार काम गर्दै गएको उहाँको भनाइ छ । तर ३६ लाख ५७ हजार खर्च भएपछि बाँकी पैसा सरकारलाई फिर्ता गरेको घिमिरेले बताउनु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here