Tune to BFM 91.2|Biratnagar

क्वारेन्टाईन व्यवस्थित नभएको सरोकारवालाहरुको गुनासो

विराटनगर, ३१ जेठ । प्रदेश १ मा निर्माण गरिएका क्वारेन्टाईन व्यवस्थित नभएको सरोकारवालाहरुले बताएका छन् ।

आज प्रेस संगठन मोरंगले कोभिड १९ रोकथाम तथा नियन्त्रणमा सरकारको भूमिका र उठेका सवाल विषयक अन्तर्mक्रिया कार्यक्रमका सहभागिहरुले क्वारेन्टाईन व्यवस्थित नभएकाले कोरोना भाईरसको संक्रमण झन बढ्न सक्ने औंल्याएका छन् ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले प्रदेश सरकारले निर्माण गरेको क्वारेन्टाईन विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार भएको दावी गर्नुभएको छ । उहाँले भन्नुभयो,‘प्रदेश सरकारले जति क्वारेन्टाईन निर्माण गरेको छ, सवै व्यवस्थित छन ।

’ मन्त्री कार्कीले स्थानीय स्तरमा निर्माण गरिएका केही क्वारेन्टाईन व्यवस्थित नभएको गुनासो आएकाले मापदण्ड विपरितका क्वारेन्टार्ईन बन्द गरिने गरिएको बताउनुभयो । नेकपा मोरंगका अध्यक्ष ऋषिकेश पोखरेलले कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणमा प्रदेश सरकारको काम प्रभावकारी भएको बताउनुभयो ।

अन्य प्रदेशको तुलनामा १ नं. प्रदेश सरकारले गरेको कार्य प्रभावकारी देखिएको उहाँले बताउनुभयो । सरकारको हिसाव किताव खोज्ने यूवाले घरका अभिभावकको पनि हिसाव किताव खोजे देशमा ८० प्रतिशत भ्रष्टाचार नियन्त्रण हुने अध्यक्ष पोखरेलले बताउनुभयो । नेपाली काँग्रेस मोरंगका सचिव मोदराज घिमिरेले कतिपय स्थानीय स्तरमा निर्माण गरिएको होल्डिङ एरिया व्यवस्थित नभएको बताउनुभयो ।

अनुगमनका क्रममा पनि होल्डिङ एरिया व्यवस्थित नभएको पाईएको उहाँले बताउनुभयो । कोरोनाका नाममा सरकारले भष्ट्राचार गरेको नेता घिमिरेको आरोप छ । जनता समाजबादी पार्टी मोरंगका नेता राजकुमार यादवले पछिल्लो समय भारतबाट आउनेहरू बढेसँगै बनाईएका होल्डिङ एरिया व्यवस्थित नहुँदा सेन्टरमा राखिएकाहरु भाग्न थालेको बताउनुभयो ।

नयाँ पुराना संक्रमित एकै ठाउँमा राख्ने गरेका कारण संक्रमण अझै फैलन सक्ने भन्दै उहाँले होल्डिङ एरिया व्यवस्थित गर्न माग गर्नुभयो । यूवा अभियानकर्मी दिपेश धिमालले क्वारेन्टाइन व्यवस्थित नभएको बताउनुभयो ।

उहाँले यूवाहरुले सरकारलाई निरन्तर खवरदारी गरिरहने बताउनुभयो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका मेडिसिन विभाग प्रमुख डा. सञ्जीव शर्माले प्रदेश १ मा कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणमा अहिले सम्म भएका काम प्रभावकारी भएको बताउनुभयो ।

देशभर २१ स्थानमा पीसीआर परिक्षण हुने भएपनि सवैको पीसीआर गर्न संभव नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘पीसीआर सवैको गर्न आवस्यक पनि छैन ।

’ कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुईटेल, प्रेस संगठन मोरंगका संयोजक सुदीप कोइराला लगायतले बोल्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button