Tune to BFM 91.2|Biratnagar

खैनीमा करोडौं राजस्व छली

विराटनगर, २४ असार । दुईवटा उद्योगले खैनी उत्पादन र बिक्रीका नाममा मासिक करोडौं राजस्व छली गरिरहेको पाइएको छ

चुना मिश्रित तयारी खैनी उत्पादन गर्दै आएका अभिनव सूर्ति उद्योग र गोर्खा टोवाको इण्डष्ट्रिज प्रालीले अन्तःशुल्क स्टिकर प्रयोगलाई लिएर राजस्व छली गरिरहेका हुन् । दुवै उद्योग काठमाडौंका भए पनि उनीहरुले उत्पादन गर्ने खैनीले ६० प्रतिशत हाराहारीको बजार प्रदेश १ मा ओगटेको छ ।

अभिनवले ‘चक्का सुपर पावर’ र गोर्खाले ‘बजरंगी एक्स पावर’ नामको चुना मिश्रित तयारी खैनी उत्पादन गर्छन् । तर दुवै उद्योगले चुना मिसाई खाने सूर्तिमा प्रयोग हुने कम दरको अन्तःशुल्क स्टिकर प्रयोग गर्दै करोडौं रुपैयाँ राजस्व छली गरिरहेको फेला परेको छ ।

चुना मिश्रित तयारी खैनी निकासी गर्न आन्तरिक राजस्व विभागबाट निर्धारण गरिएको ‘ग’ वर्गको ‘गुट्खा, खैनी र पान मसला’ लेखिएको रातो स्टिकर प्रयोग गर्नु पर्छ । यसको प्रति किलो छ सय ५० रुपैयाँ राजस्व लाग्छ । तर दुवै उद्योगले चुना मिसाएर खाने सूर्तिमा प्रयोग हुने ‘सूर्ति विविध’ लेखिएको ‘ख’ वर्गको स्टिकर लगाउने गरेको फेला परेको ती कर्मचारीले बताए ।

‘सूर्ति विविध’ लेखिएको स्टिकरका लागि प्रति किलो तीन सय ३५ रुपैयाँ मात्रै राजस्व निर्धारण गरिएको छ । दुवै उद्योगले कम दरको वा चुना मिसाई खाने सूर्तिमा लगाउने स्टिकर प्रयोग गर्दै प्रति किलो तीन सय १५ रुपैयाँका दरले राजस्व छली गरिरहेको आन्तरिक राजस्व कार्यालय विराटनगरले पत्ता लगाएको हो ।

अभिनव सूर्ति उद्योगले एक महिनामा चार हजार बोरा बढी खैनी उत्पादन गर्ने गरेको विराटनगरका एक उद्योगीले बताए । यही अनुपातमा उत्पादन गरेर बजारमा पुर्याउँदा अभिनवले मासिक दुई करोड ५२ लाख रुपैयाँ बढी राजस्व छली गरिरहेको पाइन्छ । गोर्खा टोवाको इण्डष्ट्रिज प्रालीले पनि त्यही अनुपातमा उत्पादन गर्दै मासिक राजस्व छली गरिरहेको स्रोतको भनाइ छ ।

पूर्वका उद्योगी व्यवसायीले यसरी राजस्व छली भइरहे पनि सम्बन्धित उद्योगलाई कारबाही अघि बढाउन नसकेर राजस्व विभागले लाचारीपन देखाएको गुनासो गरेका छन् । ‘पटक–पटक जानकारी गराइए पनि खुल्लेआम रुपमा राजस्व छली भएको कुरामा कारबाही अघि नबढाइकन सबै चुपचाप बस्नुले शंका उब्जाएको छ,’ एक उद्योगीले भने, ‘राजस्व विभागकै मिलेमतोमा मासिक करोडौं राजस्व चुहावट भइरहेको प्रष्ट हुन्छ ।’

आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत विमल सापकोटाले खैनी उद्योगले तयारी खैनी उत्पादन गरे पनि चुना मिसाई खाने सूर्तिमा प्रयोग हुने कम दरको स्टिकर टाँसेर आफ्नो उत्पादन बजारमा ल्याउने गरेको पुष्टि भइसकेको बताउनु भयो ।

राज्यलाई धेरै ठूलो घाटा लाग्ने गरी भइरहेको राजस्व छलीका सवालमा विभागले भने कारबाहीको प्रक्रिया अघि बढाइसकेको हुन सक्ने उहाँको भनाइ छ ।

राजस्व विभाग अन्तशुल्क महाशाखाका निर्देशक सालिग्राम आचार्यले खैनीमा राजस्व छली भइरहेको विषयमा विभागमा कुरा उठिसकेकाले कारबाही प्रक्रिया अघि बढाइसकिएको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button