Tune to BFM 91.2|Biratnagar

खोलामा डुबेर बालकको मृत्यु

विराटनगर, ५ वैशाख । मोरङको कटहरी गाउँपालिका र विराटनगर महानगरपालिका भएर बग्ने सिंघिया खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । विराटनगर–८ हाटखोलाका ७ वर्षीय बालक उप्लव बस्नेतको शव खोलामा डुबेर मृत्यु भएको अवस्थामा आज बिहान भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताउनु भयो ।

उहाँका अनुसार बालक खेल्नभन्दै हिजो बिहान ११ बजेतिर घरबाट निस्किएको खुलेको छ । खोजी गर्दा पनि फेला नपरेका उनको शव खोलाको दहमा जाल हानेर बाहिर निकालिएको हो । बालकले लगाएको चप्पल भने खोलाकै डिलमा भेटिएको थियो । प्रहरीका अुनसार मृत फेला परेका बालकको शरीरमा कुनै चोटपटक छैन भने घटना शंकास्पदजस्तो पनि देखिँदैन ।

पौडी खेल्न खोज्दा खोलामा डुबेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी राईले बताउनु भयो । बालकका बुवा उपेन्द्र बस्नेत पनि नेपाल प्रहरीका सइ हुनुहुन्छ । तेह्रथुममा कार्यरत उपेन्द्र छोराको मृत्यु भएको जानकारी पाएलगत्तै आज विराटनगर आइपुग्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button