Tune to BFM 91.2|Biratnagar

गछिया खोलाबाट पाँचवटा ट्याक्टर नियन्त्रण

विराटनगर, १३ भदौ । बालुवा, मिक्स गिट्टी, ढुंगा लगायत नदीजन्य वस्तुको तस्करीलाई नियन्त्रणमा लिन मोरङ प्रहरीले सक्रियता बढाएको छ ।

असारदेखि भदौसम्म खोला तथा नदीहरुबाट नदीजन्य वस्तु उत्खनन्मा पूर्ण रुपमा रोक लगाइएको छ । तर तस्करी नरोकिएपछि मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले विभिन्न खोलाबाट हुने अवैध उत्खनन् र तस्करी नियन्त्रणका लागि प्रहरीको छुट्टै विशेष टोली बनाएर परिचालन गर्नु भएको छ ।

‘कोरोना संक्रमण नियन्त्रण तथा अरु काममा प्रहरी व्यस्त हुँदा तस्करले मौका छोप्दा रहेछन्,’ खड्काले भन्नु भयो, ‘प्रहरी कतै लाग्नसाथ तस्कर समूहले खोलामा ट्याक्टर, टिपर र जेसीबी हालिहाल्छन् ।’ त्यही भएर खोला आसपासमा उच्च निगरानी बढाएर कडाई गर्दै नदीजन्य पदार्थको अवैध तस्करी रोक्न प्रहरीले आफ्नो ध्यान केन्द्रीत गरेको उहाँको भनाइ छ ।

अवैध रुपमा उत्खनन्मा प्रयोग गरिएका पाँचवटा ट्याक्टरलाई प्रहरीले मोरङको गछिया खोलाबाट आज बिहान नियन्त्रणमा लिएको छ । प्रहरी चौकी गछियाबाट नायव निरीक्षक (सइ) बलदेव सुवेदीको नेतृत्वमा गएको टोलीले बिहान ३ बजेतिर को २ त ९०१५, को २ त ३५३२, को २ त ७८९६, ना ६ त १८४८ र को २ त ६९१९ नम्बरका ट्याक्टर नियन्त्रणमा लिएको हो ।

सुन्दरहैंचा नगरपालिका–३, ४, ६ स्थित खोला किनारबाट बालुवा र मिक्स गिट्टी लोड गर्दै गरेको अवस्थामा ट्याक्टरहरु फेला परे पनि चालक र ट्याक्टरका मजदुर प्रहरीलाई देखेपछि फरार बनेका थिए । सुवेदी नेतृत्वकै टोलीले अवैध उत्खनन् गरेर नदीजन्य पदार्थ लोड गर्दै गरेको अवस्थामा हिजो पनि सुन्दरहरैंचा–७ स्थित गछिया खोलाबाट को १ त ६९४९ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीले अवैध उत्खनन्मा प्रयोग गरिएका ट्याक्टरलाई आवश्यक कारबाहीका लागि नगरपालिकाको कार्यालयमा बुझाउने गरेको छ । नगरपालिकाले एउटा ट्याक्टरलाई १५ हजार रुपैयाँ जरिवाना गर्ने गरेर छाड्ने गरेको छ ।

यसरी उत्खनन्मा प्रयोग गरिएकामध्ये टिपरलाई २५ र जेसीबीलाई ३५ हजार रुपैयाँ जरिवाना नगरपालिकाले गर्दै आएको छ । एक महिनाको अवधिमा मात्रै गछिया खोलाबाट अवैध उत्खनन्मा प्रयोग गरिएका ३५ वटा ट्याक्टर, दुईवटा जेसीबी र दुईवटा टिपरलाई नियन्त्रणमा लिएर प्रहरीले कारबाहीका लागि नगरपालिकालाई बुझाएको छ ।

अरु विभिन्न खोलाबाट अवैध उत्खनन्मा प्रयोग गरिएका डेढ सयबढी साधनलाई मोरङ प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button