गाँजासहित दुई पक्राउ
विराटनगर, २७ पुस । मोरङको रतुवामाईको अलगअलग स्थानबाट प्रहरीले लागुऔषध गाँजासहित दुई जना वृद्ध पुरुषलाई आइतबार साँझ नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले दुवै जनालाई घरैबाट नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा रतुवामाई नगरपालिका–३ का ७३ वर्षीय प्रेमकुमार श्रेष्ठ र रतुवामाई–५ का ६५ वर्षीय देवीप्रसाद सिलवाल रहेका छन् । प्रहरीका अनुसार श्रेष्ठको घरबाट पाँच सय ग्राम र सिलवालको घरबाट चार सय ५० ग्राम गाँजा बरामद भएको छ ।
दुवै जनाले घरैबाट गाँजाको कारोबार गर्ने गरेको प्रहरीको भनाइ छ । पक्राउ परेका दुवै जनाविरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।