Tune to BFM 91.2|Biratnagar

गुम्यो महिला फुटबलरको दृष्टि

विराटनगर, २१ वैशाख । कोरोना संक्रमणको आशंकाले उपचारमा ढिलाई हुँदा एक महिला फुटबलरको आँखाको ज्योति गुमेको छ ।

आँखामा लागेको चोटको उपचार समयमा गराउन नपाउँदा उदयपुरको बेलका नगरपालिका–५ की १६ वर्षीया समीक्षा मगरले दाहिने आँखाको दृष्टि गुमाउनु परेको हो । कोरोना भाइरस संक्रमणको आशंकामा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले तीन दिन आइसोलेसनमा राखिदिएपछि उनको चोट लागेको आँखाको उपचार समयमा हुन पाएन ।

बुवा दलबहादुरका अनुसार बारीमा सिमल तरुल खन्ने क्रममा वैशाख १२ गते उनको आँखामा चोट लागेको थियो । प्रतिष्ठानले तीन दिन आइसोलेसनमा राखेर स्वाब परीक्षण प्रक्रिया अघि बढाएपछि उपचार समयमा नहुँदा आँखाको दृष्टि गुमेको बुवा दलबहादुरले बताउनु भयो । तीन दिनपछि उनको कोरोना रिपोर्ट नेगेटिभ आयो ।

त्यसपछि प्रतिष्ठानले आँखाको नानीमा समस्या रहेको जनाउँदै विराटनगरको विराटनगर आँखा अस्पतालमा वैशाख १८ गते बिहीबार रेफर गरिदिएको दलबहादुरको भनाइ छ । प्रतिष्ठानले उपचारका लागि पठाउँदा आँखामा चोट लागेकै ६ दिन वितिसकेको थियो । आइसोलेसनको बसाई र सीमित औषधि मात्रै सेवनका कारण समीक्षाको तत्काल गर्नु पर्ने आँखाको उपचार भने जस्तो हुन पाएन ।

विराटनगर आँखा अस्पताल ल्याएर उपचार थालिए पनि चिकित्सकले दृष्टि गुमिसकेको जानकारी गराएका छन् । उपचारमा संलग्न चिकित्सक विवेक आचार्यले आँखाको नानीमा नराम्ररी चोट लागेको र उपचारमा ढिलाई हुँदा दृष्टि गुमेको जानकारी दिनु भयो । उपचारमा ढिलाई हुँदा दृष्टि फर्कने सम्भावना लगभग सकिएको उहाँको भनाइ छ ।

स्थानीय लिटिल स्टार स्कुलको कक्षा ८ मा अध्यनरत समीक्षा फुटबल खेलाडी हुन् । स्थानीय तहदेखि काठमाडौंमा आयोजित विभिन्न प्रतियोगितामा उनले सहभागिता जनाइसकेकी छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य रुपेश अधिकारीले ज्वरो आएको भनेर कोरोनाको आशंका गर्दै प्रतिष्ठानले आइसोलेसना राखिदिँदा आँखाको उपचार समयमा हुन नपाएको बताउनु भयो ।

उहाँले अहिलेको अवस्थामा ज्वरो आउनासाथ कोरोनाकै शंकाले हेर्ने अस्पतालको संस्कारले सर्वसाधारणलाई समस्या पर्दै गइरहेको बताउनु भयो । उदयपुरमा हालसम्म नेपालमै सबै भन्दा बढी २८ जनामा कोरोना संक्रमण भेटिएको छ ।

उदयपुरका बिरामी आउनसाथ सबै जसो अस्पतालले शंकास्पद रुपमा हेरिदिने र अरु समस्या हुँदा उपचार गर्न अस्वीकार गर्ने तथा यो वा त्यो बहानामा ढिला गरिदिने परिपाटी बढेको अधिकारीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button