Tune to BFM 91.2|Biratnagar

घरमा आगलागी १३ लाखभन्दा बढीको क्षति

विराटनगर, १७ वैशाख । मोरङको जहदास्थित एउटा घरमा आज बिहान आगलागी भएको छ । घटनामा १३ लाख रुपैयाँभन्दा बढीको क्षति भएको बताइएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जहदा गाउँपालिका–१ बुधनगरका लोकेश्वर सरवरियाको घरमा आगो लागेको जानकारी दिनु भयो ।

उहाँका अनुसार टिनको छानो र टाटीको बेरा भएको चार कोठे घरमा बिहान ३ बजेतिर विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । आगलागीमा परेर घर पूर्ण रुपमा जलेर ध्वस्त भएको छ । साथै गाई गोठ, फर्निचरका सामान, अन्नपात, लत्ताकपडा, भाँडावर्तन, सुनचाँदी लगायत महत्वपूर्ण कागजपत्र जल्दा अन्दाजी १३ लाख ६४ हजार रुपैयाँ बराबरको क्षति भएको राईले बताउनु भयो ।

विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने बताउँदै प्रहरीले घटनाका बारेमा अनुसन्धान थालेको छ । स्थानीय बासिन्दा, नेपाल तथा सशस्त्र प्रहरी र दमकलको सहयोगमा एक घण्टापछि आगो नियन्त्रणमा लिइएको भए पनि घर र घरमा रहेका केही पनि सामान जोगाउन नसकिएको जानकारी डीएसपी राईले दिनु भयो । घटनामा कुनै मानवीय र चौपाय क्षति भने नभएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button